मोरङ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–८ स्थित जङ्गली हात्तीपीडित नागरिकले सर्वसाधारणको जीउधनको सुरक्षाको माग गर्दै सबडिभिजन वन कार्यालय सलकपुरमार्फत आज ज्ञापनपत्र बुझाएका छन् ।
हात्तीबाट त्रसित हुनुपरेको भन्दै वन तथा वातावरण मन्त्रालयलाई जङ्गली हात्ती नियन्त्रण गर्न यहाँका पीडित नागरिकद्वारा ज्ञापनपत्र बुझाइएको स्थानीय शिक्षासेवी टीकाराम ढकालले बताए । सुन्दरहरैँचाको उत्तरीक्षेत्रमा लामो समयदेखि हात्ती गाउँबस्तीमा पसेर भौतिक तथा मानवीय क्षति गरेको, दर्जनौँ घरहरू भत्काएको र बालीनालीमा हानि पुर्याएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, “यस क्षेत्रका आमनागरिक हात्तीको त्रासबाट निदाउन सकिरहेका छैनन् त्यसैले नागरिकको जिउधनको सुरक्षाका लागि आवश्यक उपायरविकल्प अपनाउन आग्रह गर्दछौँ ।” समयमा प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न स्थानीयले ज्ञापनपत्रमार्फत प्रदेश तथा सङ्घीय सरकारसँग आग्रह गरेका छन् ।
झापा, मोरङ र सुनसरीमा बस्ती आसपास पुगेर जङ्गली हात्तीले मानवीय तथा भौतिक क्षति गरिरहेको सबडिजिजन वन कार्यालय मोरङले जनाएको छ। केही समयता नियमितजस्तै देखापर्ने जङ्गली हात्तीले वितण्डा मच्चाइरहँदा सर्वसाधारण त्रसित र भयभित भइरहेको सुन्दरहरैँचा पत्रकार समूहका अध्यक्ष बाबुराम निरौलाले बताए ।
जङ्गलबाट आहाराको खोजीमा मानव बस्ती निस्कने हात्तीको बथानले सर्वसाधारणको घर भत्काइदिने, बालीनाली नष्ट गर्ने, मानिस मार्नेलगायत गतिविधि गरी वितण्डा मच्चाइरहेको प्रहरीले जनाएको छ । जङ्गल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले एक्लै हिँडडुल नगर्न, सचेत हुन र हात्तीबाट सुरक्षित रहन प्रहरीले अनुरोध गरेको छ ।
करिब एक महिनाको अवधिमा सुन्दरहरैँचा–५ गुरुङ टोलका ६१ वर्षीया चन्द्रकुमारी लिम्बू, सुन्दरहरैँचा–७ स्थित सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठ र सुन्दरहरैँचा–८ भृकुटी टोल बस्ने ७१ वर्षीय हरिप्रसाद घिमिरेले हात्तीको आक्रमणबाट ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।रासस
प्रतिक्रिया दिनुहोस्