काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रूपन्देहीमा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ ।
बुधबार लमिछानेको बयान भए पनि थुनछेक बहस भने आज मात्र हुन लागेको हो ।
बुधबार अदालतले लामिछानेलाई बिहीबार उपस्थित हुने सर्तमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको छ । आज बिहान १० बजे अदालतमा उपस्थित हुने गरी उनलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको हो । सुप्रिम सहकारी ठगीमा मुछिएका रवि बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए ।
लामिछानेको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा सुनुवाइ भइरहेको छ । आज सुरुमा सरकारही वकिलहरूले बहस गर्नेछन् । त्यसपछि जाहेरवाला सहकारीपीडितको पक्षका वकिलहरूले बहस गर्नेछन् । अनि लामिछानेका कानुन व्यवसायीले बहस गर्नेछन् ।
बहस सकिएपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने या साधारण तारेखमा छाड्ने भन्ने आदेश आउनेछ । सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेलाई यसअघि जिल्ला अदालत कास्कीले ६५ लाख र काठमाडौंले ६० लाख धरौटीमा रिहा गरेको थियो ।
उनीविरुद्ध चितवन र पर्सामा पनि सहकारीको रकम अपचलनको मुद्दा छ ।
प्रतिक्रिया दिनुहोस्