Ads

कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस र माओवादीको नोकझोक


काठमाडाैं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबीच अध्यादेशको विषयमा घोचपेच भएको छ ।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले अध्यादेशको बारेमा बैठकमा कुरा उठाएको पाण्डेले बताए । ‘हामीले अध्यादेशको विषयमा कुरा उठाएका छौँ । हामी बाँकी कुरा त सदनमा पनि राख्छौँ नै विपक्षी दलहरूको तर्फबाट, तैपनि सरकारले अध्यादेश किन ल्यायो अहिले भन्ने विषय आजको बैठकमा उठायौँ, मन्त्रीज्यू पूरै समय बस्नुभएन । उहाँले आवश्यकताअनुसार ल्यायौँ भन्नुभयो । तर, सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतकले अब सरकार त अध्यादेशबाटै चलाउने हो भन्नुभयो,’ पाण्डेले भने ।

पाण्डे सञ्चारकर्मीहरूसँग बोलेपछि कांग्रेसका प्रमुख सचेतक घिमिरेले आफूले बोलेको कुरालाई बंग्याएर प्रचार गरेको भन्दै तत्कालै असन्तुष्टि जनाए ।

‘उहाँ (पाण्डे) ले भर्खरै बोल्नुभएको मैले सुनेँ । तर संसदमा कानुन निर्माण गर्ने प्रक्रिया धिमा गतिमा भयो । दुई वर्षको अवधिमा जम्मा ११ वटा कानुन मात्रै बनाएका छौँ । अहिले हामीलाई संविधान कार्यान्वयन गर्दै मुलुकलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ । त्यसैले यो ढिलाइ हुने प्रक्रियाको कारणले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गर्‍यो । त्यसकारण हामीले कानुन बनाउने प्रक्रियालाई गति दिनुपर्छ भन्ने कुरालाई उहाँले अतिरञ्जित गरेर अब अध्यादेशले मुलुक चलाइन्छ भन्नुभयो भनेर बोल्नुभयो । उहाँले नबोल्ने कुरा बोल्नुभयो । यहाँ मात्रै होइन, भित्र पनि बोल्नुभयो, घिमिरेले भने ।

Ads

सम्बन्धित पोष्टहरू