सर्लाही । सर्लाहीको बसवरियामा चिसोले समस्यामा परेका विपन्न मुसहर सुत्केरीहरूले न्यानो कपडा र पोषण खाना पाएका छन् । बसवरिया गाउँपालिका–३, बङ्गलवाका विपन्न मुसहर सुत्केरीलाई न्यानो कपडा र खाद्यान्न प्रदान गरिएको हो ।केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सुसहित शीतलहर सुरु भएपछि समस्यामा परेका खबर सार्वजनिक भएपछि लायन्स क्लब अफ काठमाडौँ होली स्माइल कुलेश्वरले न्यानो कपडा र खाद्यान्न प्रदान गरेका हुन् ।
गाउँका पाँचजना सुत्केरी आमा र बच्चाका लागि न्यानो कपडा, सिरक, डस्ना, चामल, गेडागुडी र घीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष रामसिहासन रायले जानकारी दिए । “विपन्न परिवारको अवस्थाबारे समाचार प्रकाशन भएपछि सहयोगी संस्थाले खाद्यान्न र केही कपडा प्राप्त भएका थिए । ती समान सम्बन्धित परिवारलाई वितरण गरेका छौँ”, उनले भने ।
राहत पाएपछि १० दिनकी सुत्केरी २३ वर्षीया जोनिता माझीले खुसी व्यक्त गरे । चिसोका कारण सङ्कटमा परेका बेला आफू र बच्चालाई अत्यावश्यक सामग्री दिएकामा उनले सहयोगी संस्थालाई धन्यवाद दिए । सुत्केरी अवस्थामा रहेका सोही गाउँका २४ वर्षीया बिना माझी, २० वर्षीया दीपा माझी, ३० वर्षीया मनिषा माझी र २० वर्षीया पुनीता माझीलाई समेत संस्थाले पोषिलो खाद्यान्न र न्यानो कपडा प्रदान गरेको छ ।
प्राप्त सामग्री विपन्न सुत्केरीलाई उनहरूको गाउँमै पुगेर वितरण गरेको स्थानीय व्यवस्थापक संस्था साहसी नेपालकी अध्यक्ष पवित्रा माझीले बताए । सुत्केरीका लागि भारतको बैङ्गलोरमा व्यवसाय गर्ने दीपक देउवा परिवारले समेत आर्थिक सहयोग गरेको थियो । लायन्स क्लब अफ काठमाडौँ होली स्माइलको सहयोगमा मुसहर टोलका अन्य ४५ परिवारलाई ज्याकेट, सर्ट, पेन्ट, जुत्ता लगायतको न्यानो सामग्री वितरण गरिएको कार्यवाहक वडाध्यक्ष रामप्रकाश राय यादवले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्