Ads

अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत


काठमाडाैं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिक नेतृत्वको एक टोली माओवादी केन्द्रमा मिसिएको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर कौशिकसहित एक दर्जन बढी नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा आजपाका स्थायी समिति सदस्य एवं पर्सा इञ्चार्ज कदम रसुल, प्रदेश सदस्यहरु अवताव अहमद, सजिव गुप्ता, दिलिप गुप्ता, विकास पटेल, व्यापार महासंघका पूर्व केन्द्रीय सदस्य बीरबहादुर बिदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य सत्रुघन गिरी, आजपाका जिल्ला सदस्य आकाश पटेल, जिल्ला सदस्य नारायण देवान, नगर सदस्यहरु सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल, चुनु महतोलगायत छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशव्यापीरुपमा माओवादी केन्द्रमा प्रवेशको लहर चलेको उल्लेख गर्दै सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन आह्वान गरेका छन् । नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने उनले स्पष्ट पारे ।

विचार मिल्ने विभिन्न धारासँग एकताका लागि पनि पहल भइरहेको जानकारी दिंदै अध्यक्ष प्रचण्डले यस्ता प्रवेशले एकता र ध्रुवीकरणका लागि दबाब पुग्ने बताए ।

नवप्रवेशी बाबुराम कौशिकले आफूहरुले पार्टीलाई माओवादी केन्द्रसँग एकताका लागि दबाब दिए पनि ढिलाई भएकाले प्रवेश गरेको जानकारी दिए । माओवादी आन्दोलनबाट विभक्त भएका कुनै पनि समूहले सफलता प्राप्त गर्न नसकेको र ढिलोचाँडो सबै माओवादी केन्द्रमा समाहित हुने उनको विश्वास छ ।

Ads

सम्बन्धित पोष्टहरू