Ads

सरकार प्रगतिको तथ्याङ्कमा होइन, मिथ्याङ्क र आत्मरतिमा रमाइरहेको छ: प्रचण्ड


प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रगतिका तथ्याङ्कमा नभई मिथ्याङ्क र आत्मरतिमा रमाइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार प्रगतिका तथ्याङ्कमा नभई मिथ्याङ्क र आत्मरतिमा रमाइरहेको बताएका हुन् ।

‘संसदमा रिपोर्ट कार्ड होइन, तथ्य होइन, मिथ्या कल्पना र आत्मरति सुनिन थालेको छ । अस्ति पछिल्ला नौ वर्षमा बुटवल–पाल्पा सडकखण्डमा ४२ पटक सवारी दुर्घटना भएर धेरैको ज्यान गएको समाचार पढेर प्रधानमन्त्रीजीको आङ सिरिङ्ग भयो,’ उनले भने, ‘उहाँ भावुक हुनुभयो, अनि उहाँले संकल्प गरेर स्वस्थानीकै शैलीमा सिद्धबाबा सुरुङमार्ग बनाउनुभयो । २०७९ माघमा काम सुरु भएको र अहिलेसम्म जम्मा ४०.१८ प्रतिशतको हाराहारीमा प्रगति भएको सिद्धबाबाको जस पनि ६ महिनाअघिका प्रधानमन्त्रीले लिनुपर्ने ? यसले नै भन्दैन र सरकारको प्रस्तुति कति कमजोर छ ?’

नारायणघाट सडक खण्डको पनि प्रगति ५३.३ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै उनले आफैँ आफ्नो पीठ थमथम्याएर आफैँले आफूलाई प्रमाणपत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताए । ‘नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रूपमा रङरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौँ,’ उनले भने, ‘बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल सुरु गरौँ, हामी सहभागी हुन्छौँ ।’

सरकारले चालु वर्षको खर्च र राजस्वको लक्ष्य पूरा गर्न नसक्ने स्पष्ट गर्दै उनले यो सरकारी तथ्याङ्कबाटै पुष्टि हुँदै गएको बताए ।

‘६ महिनाअघि २.६ प्रतिशतले घटेको व्यापारघाटा यो सरकारको ६ महिने अवधिमा ४.४ प्रतिशतले बढेर ७ सय २३ अर्ब पुगेको छ । ६ महिनाअघि २२.२ प्रतिशतले वृद्धि भएको थियो रेमिट्यान्स,’ उनले भने, ‘अहिले वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढे पनि रेमिट्यान्स आप्रवाह भने घटेर ४.१ प्रतिशत पुगेको छ । यसले देखाउँछ, सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा अग्रसर छ ।’

Ads

सम्बन्धित पोष्टहरू