राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसैको दबाब र प्रभावमा नपरी काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
अख्तियारको ३४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसुर र कसुरदार ठूलो वा सानो नभनी काम गर्न अख्तियार नचुक्ने र नझुक्नेमा आफू विश्वस्त रहेको बताए ।
भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै जानुपर्नेमा उनले जोड दिए ।
सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवृत्त गराएको उनले बताए ।
राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको बताए । ‘भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरूप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक छ भन्ने पनि मलाई लाग्दछ,’ उनले भने ।
सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए । शक्ति र पद हुँदैमा कोही पनि कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आयोगले आम नागरिकमा जागृत गराउन सक्नुपर्ने उनले बताए ।
बानी, व्यवहार, आचरण र अभ्यासले म भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्न भन्ने प्रण गर्ने हो भने यसलाई जरैदेखि निर्मूल गर्न सकिने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्