काठमाडाैं । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल आज डिस्चार्ज भएका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य भने अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने भएका छन् ।
मेयर आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने अस्पतालले जानकारी दिएको छ ।
‘उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ,’ अस्पतालद्वारा जारी पछिल्लो विज्ञप्तिमा उल्लेख छ, ‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ। मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ ।’
साथै, संक्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग हुने भेटघाट पनि हाललाई बन्द गरिएको अस्पतालले जनाएको छ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा बेलुन उडाउन खोज्दा पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए। पोखरामा प्राथमिक उपचारपछि उनीहरूलाई शनिबार नै हेलिकप्टरमार्तफ काठमाडौं ल्याइएको थियो ।
आइतबार बिहान अस्पताल पुगेर राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्