काठमाडाैं । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आइतबार बिहानैदेखि कर्फ्यू आदेश लागू भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले गए राति एक सूचना जारी गर्दै आइतबार बिहानैदेखि निषेध आदेश लागू गरेका हुन् ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम निषेध आदेश भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । फुङलिङ बजारमा प्रदर्शन, जुलुस, हुलदङ्गा र झडप लगायतका घटना हुन थालेपछि कर्फ्यू लगाइएको सूचनामा उल्लेख छ । विभिन्न अवाञ्छित गतिविधिले शान्ति सुरक्षा भंग हुन सक्ने भएकाले निषेध आदेश जारी गरिएको बताइएको छ ।
‘बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निम्न बमोजिमको चार किल्लाभित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित)को दफा ६ को उपदफा ३(क) बमोजिम निषेधित क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न निषेध गर्ने गरी यो आदेश जारी गरिएको छ’, जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार फुङलिङ नगरपालिका बजार क्षेत्रको पूर्वतर्फ फुङलिङ नगरपालिका वडा नं ७ सल्लेरी, पश्चिमतर्फ फुङलिङ नगरपालिका वडा नं ७ घोडेचौर (बलाङ धारा क्षेत्र सम्म), उत्तरतर्फ फुङलिङ नगरपालिका वडा नं ४ उकालीपानी र दक्षिणतर्फ फुङलिङ नगरपालिका वडा नं ६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल)सम्म निषेध आदेश जारी भएको छ ।
यसैगरी, काफ्लेपाटी-बल्लुडाँडा क्षेत्रमा पनि निषेध आदेश जारी भएको छ । जसअनुसार पूर्वमा पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिममा बल्लुडाँडा/ डडेले इलाका, उत्तरमा केबलकार बेस स्टेशन/ पानीको मुहान इलाकाको १०० मिटर र दक्षिणमा नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाकासमेत)मा निषेध आदेश जारी भएको छ । घोषित अवधिभर जारी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूहउपर प्रचलित कानून बमोजिम कारबाही हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्