काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चितवनको माडी नगरपालिका पुगेका छन् ।
माओवादीले सोमबारदेखि सुरु गरेको हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी : तराई–मधेस एक महिने जागरण अभियानमा भाग लिन आइतबार झापा पुगेका थिए । झापाको कचनकवलमा भएको उद्घाटन समारोहमा शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।
सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ झापाको बाह्रदशीमा भएको कार्यक्रममा देखिएका थिएनन् । मंगलबार बिहान मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको कार्यक्रममा समेत उनी देखिएका छैनन् ।
श्रेष्ठ आज चितवनका शहीद परिवारसँग भेटघाट शहीद पार्क शितलपुर गर्ने, माडीका अगुवा कार्यक्रता प्रशिक्षण र शिवरात्री मेलाको उद्घाटन गरेर साँझ अभियानमै फर्किने तयारी रहेको जनाइएको छ ।
उनले भने, ‘अध्यक्षले बोलेपछि अरुले बोल्नुपर्दैन भन्नेमा थिएँ । तर, अध्यक्षले भनेपछि सबैले बोल्ने तय भयो । बोल्ने क्रममा मलाई मनोवैज्ञानिक अवरोध भयो । त्यसले मलाई बिझायो । त्यसपछि मैले नबोलेको हो ।’
त्यो घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै श्रेष्ठले प्रचण्डकै नेतृत्वमा आफूहरू एकताबद्ध भएर अघि बढ्ने प्रण गरे । उनले सार्वजनिकरूपमा माफी माग्दै पार्टीको अभियानलाई कुनै असर नपार्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्