Ads

कान्ति ताल आसपासका पूर्वाधार जीर्ण


राँझा बाँके,। संरक्षण अभावमा यहाँको नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्ति ताल आसपासमा निर्मित पूर्वाधार जीर्ण बन्दै गएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । फलामका पाइप चोरी भएको स्थानीय चक्र बुढाले बताए ।“तालमा वरिपरि बनाएका संरचना तोडफोड भएका छन्,” उनले भने “सुरक्षाका लागि सरोकारवाला निकायलाई पटक पटक खबर गरे पनि सुनुवाइ भएको छैन ।

”करिब एक हजार आठ सय मिटर रेलिङमध्ये तीन सय मिटर रेलिङ तोडफोड गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले २०७५ सालमा कान्ति ताललाई व्यवस्थित गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो । ताल वरिपरि पर्खाल लगाउने, रेलिङ राख्ने र ताललाई परिक्रमा गर्ने फुटपाथ र नालीसहितको सडक निर्माण गरिएको छ ।

ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख उपमहानगरपालिकालाई राजस्व बुझाउनेगरी ठेक्का लिएका ठेकेदार फनबहादुर गुरुङले लागुऔषध प्रयोगकर्ताहरूले रेलिङ तोडफोड गरेको हुनसक्ने बताउछन् । तालका संरचनाको सुरक्षा जिम्मा पनि ठेकेदार पक्षकै रहेको छ । त्यसका लागि ठेकेदार पक्षले एकजना चौकीदार खटाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले रातको समयमा लागुऔषध दुव्र्यसनीहरूले तालको संरचना तोडफोड र चोरी गरेको हुनसक्ने अनुमान गरिएको बताए । उनले त्यस्ता गतिविधि रोक्ने विषयमा ठेकेदार पक्षलाई सचेत गराइएको जानकारी दिए । रासस

 

Ads

सम्बन्धित पोष्टहरू