Ads

काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन


काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मङ्गलटारमा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरीको नवप्रवद्र्धनात्मक कार्यअन्तर्गत दण्डात्मक प्रणालीले मात्रै अपराध नियन्त्रण हुँदैन, सकारात्मक सुधारको माध्यमबाट सुरक्षित समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको कार्यालयले जनाएको छ ।

विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा प्रहरी कार्यालयमा स्थापित उक्त पुस्तकालयमा कानुनको १९ खण्डका पुस्तक, नेपाली र अङ्ग्रेजी दुवै भाषाका साहित्यिक पुस्तक, धार्मिक पुस्तक, सरकारी सेवा प्रवेश पूर्वतयारीसम्बन्धी पुस्तक, नेपाल प्रहरीद्वारा प्रकाशित विभिन्न पुस्तक राखिएको छ । विभिन्न कारणले शान्ति सुरक्षाको प्रयोजनार्थ नियन्त्रणमा लिइएका व्यक्तिलाई पुस्तकालयमा राखी सम्बन्धित कसुरलगायतका बारे ज्ञान दिलाइ अब त्यस्तो कार्यमा सरिक नहुने गरी सकारात्मक रुपान्तरण गराउन समेत पुस्तकालय महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

सम्भावनाको संसार देखाउने थलोको रुपमा सर्वसाधारणलाई समेत पहुँच पुर्याइने उक्त पुस्तकालयलाई सोहीअनुसार व्यवस्थित गरिने कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । उनका अनुसार विद्यालयसँग प्रहरी कार्यक्रमअन्तर्गत विद्यार्थीलाई प्रहरी कार्यालयको गतिविधि, अध्ययनका लागि सहयोगी सामग्रीको उपलब्धतामा समेत पुस्तकालय महत्वपूर्ण हुने छ । “प्रहरी हरेक परिवारको सदस्य हो भन्ने अनुभूति दिलाउनसमेत नागरिकसँग जोडिएर विभिन्न कार्य गर्दै आइरहेका छौँ”, गिरीले भने ।

यसअघि प्रहरी कर्मचारीको बौद्धिकता बढाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले घुम्ती पुस्तकालय (मोबाइल लाइब्रेरी) सञ्चालनमा ल्याएको छ । कार्यालयले प्रहरीको व्यावसायिक, व्यक्तिगत तथा सामाजिक जीवनमा समेत सकारात्मक सोच, ज्ञान, बुद्धि–विवेक र आत्मस्फूर्ति वृद्धि गराउन मद्दत पुगोस् भन्ने उद्देश्यले घुम्ती पुस्तकालयको अवधारणा ल्याएको जनाएको हो ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार व्यक्तिगत रुपमा सबै प्रहरी कर्मचारीले छुट्टाछुट्टै पुस्तक किनेर अध्ययन गर्न असहज हुने भएकाले प्रारम्भिक चरणमा जिल्ला प्रहरी कार्यालयले पुस्तकको व्यवस्थापन गरी सहजीकरण गरी व्यस्त कार्यतालिकाबाट अध्ययनको लागि समय निकाल्न प्रोत्साहन गरिएको हो । उनले उक्त पुस्तकालयबाट प्रहरी कर्मचारीमा ज्ञान–सीप, क्षमता अभिवृद्धि गरी सकारात्मक सोच र उच्च मनोबलका साथ सेवा प्रवाहलाई निपुर्ण बनाउने अपेक्षा गरिएको बताए । उनका अनुसार प्रत्येक प्रहरी युनिटमा भएका पुस्तक पढिसकेपछि अन्य चौकीमा स्थानान्तरण गर्ने योजना बनाइएको छ ।

अनुपातिकरुपमा प्रत्येक ३० दिनमा विभिन्न प्रहरी एकाइमा उपलब्ध पुस्तकलाई आवश्यकता पहिचान गरी पुस्तक आलोपालो वितरण गरी घुमाइने, पुस्तकको अभिलेख तथा मासिक एवं वार्षिक कार्यतालिका बनाइ सोहीअनुसार पुस्तक वितरण गर्ने गरिएको छ । हाल इलाका प्रहरी कार्यालय बनेपा, प्रहरीचौकी दोलालघाट, पाँचखाल, खावा, पनौती र काभ्रे भञ्ज्याङ प्रहरीचौकीलाई आवश्यक पुस्तक हस्तान्तरण गरिएको छ भने बाँकीलाई पुस्तक व्यवस्थापन भइरहेको जनाइएको छ ।

काभ्रेपलाञ्चोकको ४२ प्रहरीचौकीमा पाँच सय ८० प्रहरी कर्मचारी कार्यरत छन् । सबै प्रहरीलाई एउटा पुस्तक पुग्ने गरी सङ्कलन गर्ने र पढिसकेपछि जहाँ नजिक चौकी पर्छ त्यस ठाउँमा हस्तान्तरण गरिनेसमेत व्यवस्था मिलाइएको कार्यालयले जनायो ।

Ads

सम्बन्धित पोष्टहरू