काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा गएकी मन्त्री डा देउवा आज स्वदेश फर्र्किएपछि सो प्रतिक्रिया दिएकी हुन् ।
मन्त्री डा देउवाले गत मंगलबार राष्ट्रसंघीय मानवअधिकार परिषदको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् । सो सत्रमा राष्ट्रसंघका सदस्य राष्ट्रहरुका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहभागिता थियो ।
नेपाल फर्किएपछि मन्त्री डा देउवाले मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपालले विगत लामो समयदेखि काम गरिरेहको जानकारी विश्व समुदायलाई गराउँदै सोही प्रतिबद्धताका साथ नेपालले उक्त परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएकाले संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुसँग नेपाललाई सहयोग गर्न आग्रह गरेको बताइन् ।
संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुसँग मन्त्री डा देउवाले आग्रह गरिन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यसहितको उम्मेदवारीमा नेपाललाई मतदान गर्न आफूले विश्व समुदायलाई आग्रह गरेको र उनीहरुले पनि नेपाललाई सहयोग गर्ने वचन दिनुभएको मन्त्री डा देउवाले जानकारी गराइन् ।
यस भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवअधिकार तथा संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।
त्यसैगरी उनले जेनेभामा रहँदा स्वीट्जरल्याण्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिकोलगायतका मुलुकका समकक्षी, प्रतिनिधिमण्डल र नेताहरुसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयहरुमा छलफल गरेकी थिइन् ।
साथै भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभाले आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका एक सयभन्दा बढी मुलुकका नियोगप्रमुख तथा प्रतिनिधि एवं संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका पदाधिकारीसँग पनि मन्त्री डा देउवाले नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।
मन्त्री डा देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा जानुभएको थियो । उहाँ सहितको प्रतिनिधिमण्डल आज बिहान १०ः३० मा काठमाठौँ आइपुग्ने कार्यक्रम रहेकोमा यहाँको मौसम खराब भएपछि दोहाबाट आएको कतार एयरवेजको विमान भारतको कोलकाता डाइभर्ट गरिएको थियो । त्यसपछि कोलकाताबाट अपराह्न मात्र उनी काठमाडौँ फर्किएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्