ओखलढुङ्गा, । ‘जन्म दिने आमा र जन्मिएको माटो कहिल्यै नभुल्नू’ भन्ने उद्गारलाई चरितार्थ गर्दै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ को चुहानछापका ५० घरपरिवार एकैसाथ गाउँ फर्किएका छन् । कृषि उद्यममार्फत आर्थिक रूपान्तरणको नवीन सङ्कल्प बोकेर गाउँ फर्किएका नेपाल सरकारका सेवानिवृत्तदेखि विभिन्न क्षेत्रमा सेवा गरेका गाउँबासी चुहानछापलाई हराभरा बनाउन जुटेका हुन् ।
रोजगारी, अध्ययन र व्यापार व्यवसाय गर्ने उद्देश्य बोकेर २०६० सालदेखि स्थानीयवासीले गाउँ छाड्न थाले । काठमाडौँसहित विभिन्न सहरमा अस्थायी तथा स्थायी रूपमा बसोबास गर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा माथि पुग्यो । समग्रमा, गाउँ रित्तिँदै गयो । चुहानछापवासी काठमाडौँ, धरान, इटहरी, विराटनगर र बुटवलका बासिन्दा बने ।
३० वर्षअघि ओखलढुङ्गाको चुहानछाप गाउँ हरियाली हराभरा थियो । खेतीयोग्य उर्वर जमिनमा स्थानीयले मानो रोपेर मुरी उब्जाउँथे । १५० घरपरिवारले पशुपालनबाट पनि मनग्गे आम्दानी गर्थे । साविक ठुलाछाप गाउँ विकास समितिको चुहानछापमा अधिकांश सुतार कार्कीको रजगज थियो ।
हराभरा गाउँ उजाड हुँदै गयो, उर्वर जमिन बाँझिए । गाउँको स्वरूपै बदलिएर जङ्गलले ढाक्यो तर रोजगारी, अध्ययन आदिका लागि गाउँ छाडेका युवा उमेर ढल्किँदै गएपछि ‘गाउँ फर्क’ अभियान चलाएर आफ्नो जन्मथलो फर्किए । सरकारी जागिरबाट सेवानिवृत्त भूपेन्द्र कार्कीका अनुसार सुन्दर गाउँ उजाड बनेपछि बसाइँ हिँडेकाहरूसँग पटक पटक संवाद गरेर गाउँ फर्किने अभियान सञ्चालन गरिएको हो । उनको घर काठमाडौँमा पनि छ तर उनले गाउँ फर्किएर आफ्नै संयोजनमा ‘गाउँ फर्क’ अभियान चलाएका छन् ।
काठमाडौँ, ललितपुर, भक्तपुर, धरान, इटहरी, विराटनगरसहित सहरमा गएर बसेका ५० परिवार गाउँ फर्किएका छन् । उनका अनुसार अरू घरपरिवारलाई पनि फर्काउने तयारी भइरहेको छ । कार्कीकै नेतृत्वमा कालिकादेवी बहुउद्देश्यीय कृषि तथा पशुपालन कृषक समूह गठन गरेर पशुपालनका लागि फार्म, तरकारी खेतीका लागि टनेल निर्माण, बाख्रापालन, फलफूल खेतीलगायतको कामको थालनी गरिएको छ ।
सुरुमा ४० वटा राँगापालन गर्न भेटेरिनरी तथा पशुविज्ञ केन्द्र ओखलढुङ्गाको समन्वयमा धमाधम गोठ निर्माणको काम भइरहेको अध्यक्ष कार्कीले जानकारी दिए । उनले सिँचाइको व्यवस्थापन गर्न पानीको स्रोत भएको खेत खरिद गरिएको बताए ।
कृषि ज्ञानकेन्द्र साथै अन्य कार्यालयको समन्वयमा तरकारी खेतीका लागि पाँच वटा टनेल निर्माणको काम सुरु गरिएको छ । स्थानीय पदमबहादुर कार्कीका अनुसार रोजगारी खोज्दै सहर तथा बिदेसिएका युवालाई गाउँ फर्काएर उजाड भूमि हराभरा बनाउन थालिएको छ । उनले दक्ष युवा जनशक्तिलाई गाउँमै अवसर सिर्जना गरी स्वरोजगार बनाउने अभियानका साथ काम भइरहेको बताए । उनले युवालाई व्यावसायिक पशुपालन, तरकारी खेती, माछापालन, बेसार, अदुवा खेतीलगायतको काम गर्न प्रोत्साहन गरिएको बताए ।
सिद्धिचरण नगरपालिका–२ का वडाध्यक्ष वसन्त कटुवालले गाउँ फर्केर आएकालाई विशेष अभियान र कार्यक्रम सञ्चालन गरेर सहयोग गरिने बताए । उनले खानेपानी, सडक, व्यवसाय सञ्चालन गर्न आवश्यक भौतिक सामग्री र राज्यबाट व्यवस्था गर्न सकिने जति सहयोग गरिने बताए । उनले चुहानछापका ९८ परिवार गाउँ छाडेर गएकोमा ५० परिवार फर्किएको र अरू पनि फर्किने क्रममा रहेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ
प्रतिक्रिया दिनुहोस्