काठमाडौँ, । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबीच सांस्कृतिक आदानप्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने उद्देश्यले आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौँमा ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ हुँदैछ । सम्मिलनमा हिमवत्खण्डका नेपालका सातवटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बसोबास गर्ने नेपालीहरु सहभागी हुँदैछन् । प्रस्तुत छ, सम्मिलनको पूर्वसन्ध्यामा मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा विजय सुब्बासँग रासस सम्वाददाता कालिका खड्काले गर्नुभएको कुराकानीको केही अंशः
हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन गर्दै हुनुहुन्छ । हिमवत्खण्ड भनेको के हो ?
नेपाल हिमवत्खण्डको केन्द्र स्थल हो । नेपाल सभ्यता र ज्ञानको पवित्र भूमि हो । यो विश्वमा मानव सभ्यताको आदिभूमि हो । ज्ञानोदयको आदिभूमि हो । यसै हिमवत्खण्ड नेपालमा सबैभन्दा प्राचीन ग्रन्य ऋगवेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको हो । यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको हो । हिमवत्खण्डअन्तर्गत नै सप्तगण्डकीमा काश्यप ऋषि, पुलत्स्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), मिथिलामा तत्वज्ञानी राजा जनक, याज्ञवल्क्य, गार्गीजस्ता दार्शनिक र वाल्मीकि, व्यास, कालीदास जस्ता महान् कविहरूको जन्म भयो । यहीं नै ने मुनि नामका ऋषि र किराँतहरूका ऋषि आकुनीले ख्याती कमाएको पाइन्छ । वैदिक वाङ्मयमा विविध दर्शनहरूको आविष्कारले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले नै हिमवत्खण्ड र यसअन्तर्गत पर्ने नेपाललाई मानव सभ्यताको उद्गम र विश्व सभ्यताको ज्येष्ठभूमि मानिएको हो । यसै पावन भूमिमा गौतम बुद्धको जन्म भयो र विश्वभर बुद्धत्वको प्रकाश प्रशारित भयो ।
प्राचीन नेपाल अहिलेभन्दा ठूलो थियो । विक्रमादित्यका छोरा समद्र गुप्तको प्रयागस्थित अभिलेखमा कामरुप ९आसाम० र कर्कपुर ९कुमाउ र गडवाल क्षेत्रबीचको देशलाई ‘नेपाल’ भनी वर्णन गरिएको छ । हिमवत्खण्डको यो विशाल यज्ञभूमि, तपोभूमि, ज्ञानभूमिमा कैयौँ ऋषि–महर्षिहरूले ज्ञानको आविष्कार गरेका थिए । उनीहरूले नै अनेक धर्मशास्त्र, नीतिशास्त्र, राज्य शासनका विधिविधान सिर्जना गरेर हिमवत्खण्डलाई युगयुगसम्म सङ्गठित गराउने थिति बसाले । हिमवत्खण्डले ओगट्ने भौगोलिक क्षेत्रफल जति विविधतापूर्ण र विशाल छ, त्यत्तिकै यसको गहनता र महत्ता पनि व्यापक र विशाल छ । यस भूखण्डका भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक मूल्य विशिष्ट छन् । पौराणिक ग्रन्थहरूका अनुसार हिमवत्खण्ड भन्नेबित्तिकै प्राचीन ऋषिमुनिको पवित्र तपोभूमि भन्ने बुझिन्छ । हिमवत्खण्ड भनेको पूर्वदेखि पश्चिमसम्म विस्तारित हिमालय श्रृङ्खला समाविष्ट भूगोलको एउटा खण्ड हो । हिमवत्खण्डवारे प्राचीनकालदेखि नै विभिन्न चर्चा परिचर्चा हुँदै आएका छन् । वेदव्यासद्वारा रचित अठार पुराणहरूमध्ये प्रमुख स्कन्द पुराण पनि हो । यसअन्तर्गत एउटा खण्डमा हिमवत्खण्डको महिमा वर्णन गरिएको छ । स्कन्द पुराणको यसै खण्डमा वर्णन गरिएअनुसार हिमालय पालित सिन्ध प्रदेशदेखि ब्रह्मपुत्रसम्म फैलिएको मानसरोवर समन्वित भूखण्ड नै हिमवत्खण्ड हो ।
सम्मिलन गर्नुको मूल उद्देश्य के हो ?
भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा भानु जयन्तीका अवसरमा २०७५ असार २९ देखि ३१ गते पहिलोपटक हिमवत्खण्ड कला–साहित्य सम्मिलन आयोजना गरिएको थियो । अहिले हिमवत्खण्ड कला–साहित्य–संस्कृति भनेर संस्कृति थप गरेका छाँै । संस्कृति थप्नुको कारण यसपालिका लोकसंस्कृतिको सङ्कलन मुख्य विषय हो । तत्कालीन तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्वखण्डको सम्मिलन गर्नुपर्छ भनेर भन्नुभयो । त्यसपछि खोजी गरेर २०७५ सालमा हिमवत्खण्ड कला–साहित्य प्रतिष्ठान सम्मिलन गरिएको हो । धेरैले हिमवत्खण्ड के हो भनेर सोध्नुुहुन्छ । हिमवत्खण्ड भनेको पश्चिममा सिन्धु नदी (सिन्धु प्रदेश पनि भनिन्छ) । पश्चिममा ब्रह्मपुत्र नदी, उत्तरमा मानसरोवर क्षेत्र, पूर्वमा ल्हासा, उत्तरमा हिमालय पर्वत श्रृङ्खला दक्षिणमा गङ्गा नदी (गङ्गा मैदान पनि भनिन्छ) । यो हिमवत्खण्डको भू–भाग हो । यसलाई हिन्दू धर्ममा सनातनी धर्म पनि भनिन्छ । त्यसमा १८ वटा महापुराण छन् । तीमध्ये सबैभन्दा ठूलो स्कन्द महापुराण हो । त्यो स्कन्द महापुराणको एउटा महत्वपूर्ण खण्ड हिमवत्खण्ड रहेछ ।
हिमवत्खण्डको मध्यभागमा नेपाल छ । यो पुराण र महापुराणमा धेरै उच्च स्थान रहेको छ । हिमवत्खण्डमा मानस खण्ड लेखिएको छ । मानसखण्ड (मानसरोबरसँग जोडेर नेपालको चर्चा गरिएको छ) । पशुपतिनाथ, मृगस्थली, बागमती नदी, गुह्येश्वरीको यति धेरै उच्च स्थानमा चर्चा छ । नेपालमा संस्कृतिका विद्धान पण्डित महापण्डितले यस्तो अन्य देशका पण्डित आउँदा हामी सानो जस्तो देखाउँछौँ । हिमवत्खण्डमा नेपालको हैसियत भुर्इंमा बस्ने होइन । माथिको आसनमा बस्ने हैसियत रहेछ । यो सम्मिलनमा नेपालभित्र र नेपाली मूलका विदेशी नागरिक हुनुहुन्छ । हिमवत्खण्डभित्र बसेको भावना, लोकसंस्कृतिको अवस्था के छ जम्मा गरौँ भन्ने मूल उद्देश्य हो । धेरैले ‘ग्रेटर नेपाल’सँग जोडेर हेर्ने पनि हेर्ने गरेका छन् । त्यो राजनीतिक हो । हिमवत्खण्डभित्र बसेका नेपाली र नेपालीमूलका विदेशी नागरिकको साझा विषय लोकसंस्कृतिलाई मूल विषय बनाएका छौँ । एकताको भावना फैलाऔँ भन्ने पनि हो ।
हिमवत्खण्ड संसारकै गौरव हो । यही गौरवशाली भूखण्डमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वप्रसिद्ध हिमशृङ्खलाहरू अवस्थित छन् । भारोपेली तथा भोट बर्मेली भाषाको आधार क्षेत्रका रूपमा रहेको यस भू–भागमा अस्तित्वमा रहेका नेपालीसहित विभिन्न भाषा, सभ्यता र संस्कृतिको उन्नयन, आपसी सदभाव र सांस्कृतिक एवम् मौलिक सिर्जनशील पक्षको महिमा गान एवम् विचार विमर्श यस सम्मिलनको खास उद्देश्य रहने छ । हिमवत्खण्डका समस्त सांस्कृतिक वैभवप्रति गर्व गर्दै यहाँको प्रकृति, संस्कृति तथा मानवीय मूल्यको संरक्षण गर्नु यस सम्मिलनको उद्देश्य हुनेछ । हिमवत्खण्डको यस भेगमा सिर्जित वैदिक तथा बौद्ध वाड्मय, ज्योतिष विज्ञान, योग एवम् आयुर्वेद र अपार सांस्कृतिक ज्ञान परम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको छ । ज्ञान तथा चेतनाका ती महिमाशाली परम्पराप्रति गौरवबोध गर्नमा यस सम्मिलनले थप भूमिका खेल्नेछ ।
हिमवत्खण्डका मौलिक तथा रैथाने संस्कृति, ज्ञान परम्परा, तन्व–मन्त्र, कला–साहित्य, रीतिरिवाज, शिल्पकला, भेषभूषा, खानपान, मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सम्मिलनले यस क्षेत्रमा पुनर्जागरण ल्याउनेछ । हिमवत्खण्डका प्राचीन सभ्यता, सांस्कृतिक, सामाजिक, भौगोलिकलगायतका विविध आयामबारे खोज–अन्वेषण, अध्ययन–अनुसन्धान तथा संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नका निमित्त यस सम्मिलनले ऊर्जा प्रदान गर्नेछ । नेपाल अनेक जातजाति, संस्कृति तथा भाषाभाषीका इनद्रेणीको रूपमा परिचित रहँदै आएको छ । यस मुलुकमा रहेको प्राकृतिक, जैविक तथा सांस्कृतिक विविधता नै यस धराको ऐश्वर्य हो । यस सत्यलाई आत्मसात् गरी अन्तरराष्ट्रिय एकताको सेतु नेपाली राष्ट्रिय संस्कृतिको संवर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो । यो सम्मिलनको अर्को उद्देश्य भनेको मुलुकको विकास निर्माण र समृद्धितर्फको यात्रामा बहुसांस्कृतिक पहिचान कायम राख्दै अघि बढ्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्नु पनि हो । भाषिक घनत्वका दृष्टिले नेपाल अनुपम भूमि रहिआएको छ र हाल बोलचालमा रहेका एक सय २३ भाषा तथा तीसँग जोडिएका संस्कृतिको जीवन्तता यसको प्राण हो । यसलाई नागरिक तथा सरकारी दुवै तहका प्रयत्नबाट जोगाउनु तथा एक आपसमा सहकार्य गरी विकसित गर्नु आवश्यक छ । नेपालका भाषा र संस्कृतिहरूको संरक्षणका लागि विशेष भूमिका निर्वाह गर्नका लागि सम्बद्ध सबै पक्षमा चेतना जागृत गराउनु यस सम्मिलनको थप उद्देश्य हुने छ ।
हिमवत्खण्डको मौलिक संस्कार संस्कृतिभित्रका कस्ता विषयहरु बढी सम्मिलनमा छलफल हुन्छ ?
हिमवत्खण्डको दक्षिण भाग हिमालय पर्वत श्रृङ्खला हो । सभा लाख पर्वत श्रृृङ्खलाबाट सिञ्चित जमिन हिमवत्खण्ड हो । हामीले नेपालभित्रको प्रदेश नभनी बागमती सिञ्चित भू–भागको लोक संस्कृति, गण्डकी, कोशी, सेती, महाकालीको हिमालय पर्वत श्रृङ्खलाको नदी सभ्यताको लोक संस्कृतिको सङ्कलन गर्ने र शिर नभएको लुम्बिनी क्षेत्रको लोकसंस्कृति र मिथिला क्षेत्रको लोकसंस्कृति ९मधेश प्रदेश० भनेर सात प्रदेशको सातवटा कार्यपत्रको व्यवस्था गरिएको छ । नेपाल बाहिरबाट १० वटा कार्यपत्र प्रस्तुत गरिनेछ । त्यसबाहेक नेपाल वरिष्ठ विद्धानबाट हिमवत्खण्डको गरिमा, यसक्षेत्रभित्रको नेपाली भाषा र विश्वव्यापीकरण, हिमवत्खण्डको सांस्कृतिक वशिष्टता के छ ? नेपाली संस्कृतिको खानपान जस्तैः बर्माका नेपालीले गुन्द्रुक खान्छन् कि खाँदैनन् ? नृत्य लोकलय कस्तो छ । कार्यपत्र सात प्रदेशबाट सातवटा, विदेशी नेपालीका तर्फबाट १० वटा र विज्ञहरुबाट पाँच वटा गरी २२ वटा कार्यपत्रका प्रस्तुत गरिनेछ । पछि त्यसलाई सङ्कलन गरी पुस्तक निकाल्ने सोच छ ।
सम्मिलनमा नेपालीबाट मात्रै कार्यपत्र प्रस्तुत हुन्छन् कि विदेशमा बस्ने नेपालीबाट पनि हुन्छ ?
नेपालको लोकसंस्कृतिबारे गोष्ठी–पत्र भनेर नेपालका सातओटै प्रदेशका नेपाली लोकसंस्कृति सम्बन्धमा प्रस्तुति हुनेछ भने नेपाल बाहिरको नेपाली लोकसंस्कृतिसम्बन्धी म्यानमार, बङ्गलादेश, भुटान, थाइल्यान्ड, चीनको तिब्बतका साथै भारतका पश्चिम बङ्गाल, सिक्किम, मणिपुर, असम, देहरादुन आदिबाट गोष्ठीपत्र प्रस्तुत हुनेछ । विशेष गोष्ठी–पत्र प्रस्तुति हिमवत्खण्डमा नेपाली भाषाको अवस्थाबारे प्राडा चुडामणि बन्धु, हिमवत्खण्डका नेपाली भाषा र यसको अन्य भाषासँगको अन्तरसम्बन्ध प्राडा माधवप्रसाद पोखरेल, हिमवत्खण्डको संस्कृति र विश्वव्यापीकरण डा रमेश ढुङ्गेल, हिमवत्खण्डको नेपाली खानपान संस्कृति डा भेषराज अधिकारीको प्रस्तुति रहनेछ ।
सम्मिलनमा मुलुकका सातवटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डबाट नेपाली लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । सम्मिलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृति’ सम्बन्धमा प्रवचन दिने कार्यक्रम छ । सिक्किमका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङद्वारा ‘हिमवत्खण्डमा नेपाली भाषा तथा नेपाली लोकसंस्कृतिको अवस्था’ का बारेमा विशेष प्रवचन हुनेछ ।
हिमवत्खण्डको सम्मिलन गर्न कस्ता चुनौतीहरु छन् ?
आर्थिक व्यवस्थापन गर्न निकै समय लाग्यो । अलिअलि कठिनाई अनुभव पनि भएको छ तर व्यवस्थापन गर्छौँ । सहयोग सङ्कलन पनि गर्छौैँ । तयारीको अन्तिम अवस्थामा पु¥याइसकेका छौँ । विदेशबाट आउने नेपालीलाई खाने र बस्ने व्यवस्था मिलाएका छौँ । घोषणापत्र तयार गर्छौँ । पहिलो सम्मिलनमै हिमवत्खण्ड क्षेत्रभित्रका नेपालीबीचमा एउटा मञ्च बनाउने कुरा भएको थियो तर भएन । अहिले चाहि त्यो मञ्च बनाउँछाँै । दुई वा तीन वर्षमा यस्ता सम्मिलन गर्नेछौँ । भारतमा नेपाली मूलका वासिन्दा धेरै छन् । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नेपाली लोकसंस्कृतिको अवस्थाबारे यो क्षेत्रमा काम गर्न राम्रो भन्ने सुझाव दिनुभएको थियो । बर्माको पिलोक भन्ने ठाउँमा २०/२२ वर्षका नेपाली मूलका छोरीहरु नेपाल सम्झेर रुन्छन् । बाजेहरु नै उता गएका थिए । बुबाआमालाई सम्म नेपालका बारेमा थाहा छैन । नातिनातिनाहरु नेपालको नाम त्यसरी भावुक भएर लिन्छन् । यस्ता मान्छेहरु नेपालमा ल्याउनुपर्छ भन्ने लाग्यो । धेरै नेपाली आफन्त, दिदीबहिनी भेटन पाउने खुशीमा नेपाल आउन लालाहित छन् । तीन दिन नेपाल बस्दा सबै भाषाभाषीको प्रतिनिधित्व हुने गरी विदेशी पाँच र नेपाली १० सांस्कृतिक प्रस्तुति पनि गरिन्छ । यो विविधतालाई जीवित राख्न पुस्तक, भिडियो पनि बनाउने योजना छ ।
सम्मिलनमा विदेशी नेपाली र नेपाली गरी सहभागी कति जना हुनुुहुन्छ ?
सम्मिलनमा विदेशबाट कलाकारसहित करिब सय जना आउनुहुन्छ भनेसहभागी देशभरबाट करिब २०० जना तथा आयोजक, सल्लाहकार गरी जम्मा करिब एक हजारको उपस्थिति हुन्छ । सिकिमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङले विदेशमा बसेर धेरै नेपाली भाषाको काम गर्नुभएको छ । उहाँलाई हामीले सम्मान पनि गर्छौँ । हामीले यसरी सम्मिलन सुरु गरेपछि भविष्यमा पनि कसै न कसैले यो कामलाई निरन्तरता दिनेछन् भन्ने लागेको छ । यो वौद्धिक छलफल हो । सुरुको दिनमा पुरानो चलचित्र बसाइ, मुनामदन पर्यटन बोर्डमा देखाइनेछ । नेपाली चलचित्र, सञ्चारमाध्यममा नेपाली भाषाको प्रयोग, संस्कृति र समृद्धिमा नेपाली भाषाको प्रयोग भन्ने विषय रहेको छ । सम्मिलनको उद्घाटन राष्ट्रिय सभागृहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गर्नुहुनेछ भने सभापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
सम्मिलनका क्रममा भन्नुपर्ने केही विषय छ कि ?
यो सम्मिलन भनेको मदन भण्डारी फाउन्डेसनको कला साहित्यको क्षेत्र हेर्ने हाँगा मात्रै हो । यस्ता विषय सरकारका एकेडेमीले काम गर्नुपर्छ । एकेडेमीहरुमा नेपालमा चर्चित र स्थापित व्यक्तिलाई लैजानुपर्छ । त्यो काम एकेडेमीले गर्नुपर्छ । सरकारकै लगानीमा यस्ता काम आगामी दिनमा गर्न पाए राम्रो हुन्थ्यो ताकी संसारभरका नेपालीबीच सांस्कृतिक सम्बन्धलाई अगाडि बढाउन सकियोस् । राज्यले कला, साहित्य, संस्कृति क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्नुपर्छ । पुराण, महापुराणसँग जोडिएर धेरै ठूलो सम्पति रहेछ । धार्मिक क्षेत्रमा काम गर्ने मानिसहरुले नेपालको धार्मिक क्षेत्रमा र नेपालीलाई उच्च आशामा बसाउन सक्नुपर्छ । धार्मिक कुराभन्दा फरक काम गर्ने हामी सांस्कृतिक पक्षलाई ध्यान दिएर काम गरिरहेका छौँ । नेपालीको भावनालाई जोड्ने काम गरिरहेका छौँ । रासस