Ads

स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो ।

नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न सुरु गरिएको नगरउपप्रमुख विशन राईले बताए । “यस वर्ष चार सय राँगा वितरण गर्ने कार्यक्रम छ”, उनले भने, “नगरपालिकाको कृषि कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ । हालसम्म दुई सय राँगा वितरण गरिसहेका छौँ ।”

पन्ध्र वडा रहेको यो नगरपालिकाको वडा नं ३ बाम्राङमा रु १६ लाख, वडा नं ४ खाल्लेमा रु सात लाख, वडा नं ५ लफ्याङमा रु १२ लाख,  वडा नं ७ दोर्पामा रु तीन लाख र वडा नं १५ विजयखर्कमा रु आठ लाख ५० हजार बराबरको राँगा वितरण गरिसकिएको छ । उक्त वडामा बाँकी रकमको समेत राँगा खरिद गरेर किसानलाई वितरण गरिने उपप्रमुख राईले जानकारी दिए ।

राँगा खरिद गरिएको कुल मूल्यको २५ प्रतिशत मूल्य किसान स्वयंले भुक्तानी गर्नेगरी राँगा वितरण कार्यक्रम तय गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए । कृषक समूहको खातामा रकम जम्मा गरिदिएपछि समूह आफैँले खरिद–ढुवानी तथा वितरण गर्ने गरिएको छ । कृषिलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले विशेषगरी युवालाई रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले राँगा वितरण कार्यक्रम तय गरेको जनाइएको छ । राँगा तथा भैँसीपालनमार्फत मल पनि उत्पादन हुने हुनाले तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको छ । नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ । आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरिएको छ । नगरपालिकाको लगानीमा ती नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्कीइरहेका छन् ।

बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैँले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख जैसीले बताए । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा दैनिक ज्यालादारीका करिब एक सय जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रमअन्तर्गत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब भित्रिने अनुमान गरिएको उपप्रमुख राईले बताए ।

“दिक्तेलमा उत्पादन भएको कफी स्थानीय बजारसँगै देशका विभिन्न सहरमा बिक्री गर्ने योजना छ । नेपालमा खपत नभएको कफी बेलायत पठाउँछौँ”, उनले भने, “प्रशोधन गर्दा त नेपालमै खपत भइहाल्छ । कतिपय कफी प्रशोधन नगरी सिधैँ बेलायत पठाउने छौँ । त्यसका लागि सम्झौता भइसकेको छ ।” नगरपालिकाले सुरु गरेको किबीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत रोपिएका किबीले उत्पादनसमेत दिन थालिसकेका छन् । उत्पादित किबी सङ्कलन गरेर प्रशोधन गर्नेगरी वडा नं ६ नेर्पामा प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू