Ads

परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता


काठमाडौँ, । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए।मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज बिहान सो भेटवार्ता भएको हो । ती भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस भेटका अवसरमा मन्त्री डा राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्म संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले सहयोगका लागि आग्रह गर्नुभयो ।

साथै मन्त्री डा राणाले कृषि, जलविद्युत्, पूर्वाधार निर्माण, पर्यटन क्षेत्रको विकासका नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी गर्नुभएको थियो । साथै नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याहरुको सामना गरिरहेको जानकारी दिँदै नेपालले जलवायु न्यायका लागि अन्तरराष्ट्रिय मञ्चहरुमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि साथ र सहयोग अपेक्षित रहेको मन्त्री डा राणाले बताउनुभएको थियो ।

त्यसैगरी मन्त्री डा राणाले फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले यसको असर कम गर्नका लागि आगामी दिनमा मिलेर काम गर्न सकिने बताउनुभएको थियो । फिलिपिन्स र नेपालका बीचको आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामूहिक सहकार्यका विषयमा सो भेटका अवसरमा कुराकानी भएको थियो । रासस

Ads

सम्बन्धित पोष्टहरू