भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५, मझौलेका स्थानीयको सामान्य स्वास्थ्य सेवा लिन घण्टौं हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ ।
गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो ।
नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साविक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गरेको उनले बताइन् ।
“यहाँका नागरिक स्वास्थ्य सेवा लिन निकै समस्या थियो” उपाध्यक्ष राईले भनिन्, “सामन्य स्वास्थ्य सेवा लिन पनि तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो । जनप्रतिधि बन्दै गर्दा गरेको वाचा अनुसार यहीबाट सेवा प्रवाह गर्न सफल भएका छौँ ।”
नागरिकलाई सहज रूपमा स्वास्थ्यसेवा पु–याउनलाई आफ्नो तहबाट भूमिका खेलिरहेको उपाध्यक्ष राईले बताइन् । भौगोलिक रूपमा विकट रहेका अन्य स्थानमासमेत आधारभूत सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर सेवा प्रवाह भइरहेको उनले जानकारी दिइन् ।
सामान्य रुघाखोकी तथा जीवनजल लिनको लागि घण्टौं पैदलयात्रा पार गर्नुपर्ने अवस्थामा गाउँबाट नै स्वास्थ्य सेवा लिन पाउँदा खुसी लागेको टेम्केमैयुङ–५ का रमेश विष्टले बताए । स्वास्थ्य इकाइ स्थापनाले यहाँका नागरिकले तीनदेखि चार घण्टा समय लगाएर अन्य ठाउँमा सेवा जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए ।
“सामान्य स्वास्थ्य सेवा लिन नै समस्या थियो,” उनले भने, “अहिले गाउँबाट नै सेवा लिन पाएका छौँ । अहिले हाम्रो वषौँदेखीको समस्या हटेको छ ।”
गाउँघरमा नै स्वास्थ्य संस्था सञ्चालन भए पनि बिरामी हुँदा नियमित स्वास्थ्य जाँच गराउन पाइएको स्थानीयवासी देवबहादुर विष्टले बताए । स्वास्थ्य केन्द्र स्थापनाले सामान्य उपचार लिनको लागि घण्टौं पैदल यात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिए ।
“पुस्तौँबाट हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौं,” उनले भने, “अहिले गाउँमा नै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ । स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो । अहिले आफ्नै ठाउँमा नियमित स्वास्थ्य जाँच गराउन पाएका छौं।”
प्रतिक्रिया दिनुहोस्