अर्घाखाँची, । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञानको भूमि रहेको बताएका छन् । आज अर्घाखाँचीको पाणिनि सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो देशमा गौतम बुद्ध, कपिलमुनी, वेदव्यासजस्ता विद्धानहरू जन्मिएको प्रसंग निकाल्दै नेपाल धेरै विद्वान र ऋषिहरूको देश भएको बताए ।
उनले पाणिनि ऋषिले व्याकरणमा १४ वटा सूत्र निर्माण गरेको बताउँदै पछिल्लो समय एआईले पनि ती व्याकरणको सूत्र प्रयोग गरेको बताए । उनले पाणिनि ऋषि पाकिस्तानबाट आएको नभई यही जन्मिएका दाबी गर्दै पाणिनिका बुवा यहीँका भएको जिकिर गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले परशुरामको बाल्यकालको कथासमेत सुनाएका थिए । उनले पाणिनिसँगै रुरु र श्रृगेस्वरजस्ता महत्त्वपूर्ण स्थान रहेको बताउँदै अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गरे ।
प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्र आज आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्