सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक आज बस्ने भएको हो ।
आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ ।
पछिल्लो समय गठबन्धनमा असमझदारी बढेको टिप्पणी भइरहेको छ । संयन्त्रमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच रहेको बताएका थिए । थापाले यस्तो टिप्पणी गरेको एक दिनपछि संयन्त्रको बैठक बस्न लागेको हो ।
उता प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो सरकार लामो समयसम्म नटिक्ने टिप्पणी गरेका थिए । यता शिक्षकहरूले सडक आन्दोलन चर्काइरहेका छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक अघि बढाउन भन्दै संसद अधिवेशन बोलाउँदै शिक्षकहरूलाई कार्यक्षेत्रमा फर्कन अनुरोध गरेको थियो । तर, आन्दोलित शिक्षकहरूले राज्य आफूहरूप्रति अझै अनुदार रहेको भन्दै आन्दोलन नरोक्ने बताएका छन् ।
त्यसो त मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच कुराकानी भएको थियो । पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय पनि पेचिलो बनेको कतिपयको टिप्पणी छ । उता त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले राजीनामा दिएसँगै सो पद पनि रिक्त भएको छ ।
त्यसैले कतिपय महत्त्वपूर्ण नियुक्ति, आन्दोलन, सरकारको डेलिभरी लगायतका विषय पेचिलो बनिरहेका बेला संयन्त्रको बैठक डाकिएको हो ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।
प्रतिक्रिया दिनुहोस्