Ads

समितिको प्रतिवेदन आएलगत्तै संसद्ले शिक्षा विधेयक पारित गर्छ- सभामुख घिमिरे


सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिवेदन पेस गर्नेबित्तिकै शिक्षा विधेयक पारित गर्न संसद्‌ले प्रक्रिया थाल्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख घिमिरेले शिक्षा विधेयक संसद्‌को बर्खे अधिवेशनबाटै पारित गर्ने गरी अघि बढ्ने बताएका हुन् ।

जस अनुसार संसद् बैठक शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिनमा सञ्चालन हुनेछ । पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका थिए । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको सभामुखको सचिवालयले जनाएको छ ।

‘विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँहरूले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ’, सभामुख घिमिरेले बैठकमा भने, ‘उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको छ । समितिको प्रतिवेदन आएलगत्तै संसद्ले पारित गर्ने प्रक्रिया शुरू गर्छ ।’​

सोहीबमोजिमको क्यालेन्डर वैशाख १२ गते बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।

‘संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ । जुनसुकै दिन विधेयक संसद्‌मा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं’, सभामुख घिमिरेले भने, ‘नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामती लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ ।’

Ads

सम्बन्धित पोष्टहरू