Ads

एमालेको ‘यूथ सेलिब्रेसन’: ओली र पोखरेललेबाहेक सबै युवा वक्ता


काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको गर्दैछ। एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवाहरूलाई उतार्ने तयारी गरेको छ।

यस कार्यक्रममा बोल्ने वक्ता पनि एमालेले युवाहरूलाई नै अघि सारेको छ। कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेललेबाहेक सबै युवाहरुले बोल्ने कार्यक्रममा तय भएको युवा संघका अध्यक्ष क्षितिज थेवेले बताए।

कार्यक्रममा बोल्नको लागि १६ देखि २४, २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० सम्म उमेर समूहको वक्ता छनोट गरिएको छ। जसमा सबै समूहलाई समेटेर समावेशी पनि बनाइएको छ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य इलाम २ बाट निर्वाचित सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बागलुङ क्याम्पसको स्ववियू सभापति याश्मिन शेख, पिएन क्याम्पसको सभापति विष्णु पोखरेल, युवा डाक्टर आनन्द सिंह, दलित युवा नेपाल ल क्याम्पसका प्रकाश सुनार, कोटेश्वर क्याम्पसको स्ववियू सभापति उम्मेदवार शर्मिला भण्डारीलगायतले बोल्ने थेवेले बताए।

कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी २१ वर्षकै उमेरमा उपमेयर जितेर नेपालकै सबैभन्दा कान्छी उपमेयरको उदाहरण बनिन् । उनलाई ७९ मा एमालेले पुन: दोहोर्‍यायो ।

उनका अनुसार कार्यक्रममा केही वक्ताहरू सप्राइज दिने तयारी छ। कार्यक्रमको अध्यक्षता थेवे आफैँले गर्नेछन् भने स्वागत मन्तव्य अनेराश्ववियुका अध्यक्ष समीक बडालले गर्नेछन्। कार्यक्रममा एलिना चौहानलगायत कलाकारको प्रस्तुति पनि रहनेछन्।

Ads

सम्बन्धित पोष्टहरू