Ads

शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउन खोजियो: सांसद गैरे


सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई अस्त्र बनाएर प्रतिपक्षी दलले सरकार ढाल्ने प्रयत्न गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीसँग वार्ता गर्दा उत्साही हुने शिक्षक सडकमा फर्केपछि अमिलो मुख गराउने गरेको उनले आरोप लगाए ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद गैरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले शिक्षक आन्दोलनलाई अस्त्र बनाएर सरकारलाई अफ्ठेरो पार्ने खेल खेलेको आरोप लगाएका हुन् ।

‘पेशागत शिक्षक आन्दोलनजस्तो संवेदनशील विषयलाई सरकार ढाल्ने अस्त्र बनाउने, त्यसैको जगबाट सरकारलाई अप्ठेरो पार्ने, सरकार ढाल्ने र आफैं प्रधानमन्त्री बन्ने असफल प्रयत्न गर्ने काम बन्द हुनुपर्दछ,’ गैरेले भने, ‘त्यसो भएमात्र सार्वजनिक महत्वको प्रस्तावमाथि संसद्मा छलफल गर्नुको अर्थ हुन्छ ।’

नेकपा एसका अध्यक्ष माधव नेपाल शिक्षकको आन्दोलनमा गएकोप्रति कटाक्ष गर्दै गैरेले संसदीय समितिको सभापति रहेको नेता सडकमा पुग्नु अचम्मको विषय भएको उनले बताए । शिक्षकहरू राजनीतिक दलको गोटी बन्न नहुने उनको भनाइ छ ।

‘शिक्षक महासंघका नेताहरू प्रधानमन्त्रीसँग भेट्दा अत्यन्त खुसी । मन्त्रीसँग भेटेर बाहिर आउनुहुन्छ, समस्या जहाँको त्यही हुन्छ । सत्तारूढ दलका नेतासँग छलफल गर्दा सकारात्मक बाहिर आउँदा फेरि अनुहार अमिलो किन भइरहेको छ ?’ गैरेले भने ।

कांग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले पनि शिक्षकहरूले बालहठ गर्न नमिल्ने बताइन् ।

यसअघि माओवादीले विपक्षी दलहरूले दर्ता गराएको जरूरी महत्वको सार्वजनिक प्रस्तावमा छलफल हुनेपर्ने माग गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू