काठमाडौँ,। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने बताउनुभएको छ ।१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज मन्त्रालयले ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा उहाँले युवाहरूले आफ्नो योग्यता र क्षमताका आधारमा मुलुकको जुनसुकै ठाँउमा बसेर रोजगारी गर्न सक्ने बताउनुभयो । “पहुँच र भनसुनले रोजगारी पाइन्छ भन्ने भाष्य चिर्दैछौँ । अब योग्यता र क्षमता भएका नागरिकले सहजै रोजगारी पाउने अवस्था सृजना भएको छ”, उहाँले भन्नुभयो ।
मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले भचुर्अल माध्यमबाट शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा मे दिवसको शुभकामना आदानप्रदान गर्दै मन्त्री भण्डारीले स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवासुविधा प्रदान गर्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“यो पोर्टल आजदेखि सुरुआत भएको छ । सबै स्थानीय तह र श्रमिकसँग मोबाइल एप्लिकेसनमार्फत यसको पहुँच पुग्नेछ । योसँगै स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवासुविधा प्रदान गर्न मन्त्रालयले अभियान सञ्चालन गर्नेछ”, उहाँले भन्नुभयो ।
सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ लाई प्रभावकारी कार्यन्वयन गर्न श्रम संसार पोर्टलले श्रम बजार सूचना प्रणालीमा सहयोगी पु¥याउने मन्त्री भण्डारीले विश्वास व्यक्त गर्नुभयो । सरकारका मुख्य सचिव एकनारायण अर्यालले आन्तरिक रोजगार प्रवर्द्धनमा यस पोर्टलको महत्त्वपूर्ण र सहयोगी भूमिका निर्वाह गर्ने बताउँदै यसलाई सफल बनाउन तीनै तहका सरकारले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तरराष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालयका निर्देशक नमूना ओज्कानले श्रम संसार पोर्टलमा अन्य सरोकार भएका पक्षसँगै रोजगार खोजकर्ताको विश्वास कायम राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
श्रम संसार पोर्टल के हो ?
यो श्रम बजारसम्बन्धी सूचना प्रणाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको आधिकारीक सूचना प्रवाह गर्ने एउटा सामाजिक सञ्जाल हो । मन्त्रालयका अनुसार श्रम संसार राष्ट्रिय श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको एक सूचना प्रणाली हो ।
यस प्रणालीमा तीनै तहका सरकार, रोजगार खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार, तथा श्रम बजारका अन्य सरोकार भएका निकायसमेत आवद्ध रहने भएकाले श्रम बजारसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सकिने छ ।
यस पोर्टल सङ्घ तथा प्रदेश सरकारको समन्वयमा हरेक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुनेछ । यसको प्रयोगले देशभर रहेका रोजगारीका अवसरबारे जानकारी लिई सहिजै आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ । सीपमूलक तालिमबारे जानकारी लिन तथा सजिलै आवेदन दिन सकिने र स्वरोजगारसमेतले आफ्नो सीपको विज्ञापन गर्न सक्ने यस पोर्टलको विशेषता हो ।
पोर्टलमा निःशुल्क दर्ता तथा सञ्चालन प्रक्रियाको व्यवस्था गरिएको छ । श्रम बजार सम्बन्धित नीति, नियम तथा जानकारी पोर्टलमा उपलब्ध हुनेछ । मन्त्रालयले यसको सहज पहुँचका लागि यही वैशाखभित्र ‘आइओएस’ र ‘एन्ड्रोइड’ दुवैमा उपलब्ध मोबाइल एपस्को सुरुवात गर्ने जनाएको छ ।
पोर्टल सञ्चालन, अन्तरतह समन्वय तथा निजी क्षेत्रको आवद्धता सुनिश्चित गर्न आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध मिलाउने विषयमा भएका आगामी योजनाका बारे पनि मन्त्रालयले जानकारी दिएको छ । यसअघि सन् २०२३ मा कोशी प्रदेशमा विकास गरी प्रारम्भिक रूपमा विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण गरिएको थियो ।
छोटो समया उल्लेखनीय सफलता हासिल गरेको भन्दै कोशी प्रदेशका एक सय ३७ वटै स्थानीय तह यस प्रणालीमा आवद्ध भएका थिए । देशभरका सात सय ५३ वटै स्थानीय तहलाई श्रम संसार पोर्टमा समेट्न मन्त्री भण्डारीको अग्रसरतामा प्राविधिक समितिले काम गरेको थियो ।
मन्त्रालय र स्वीसकन्ट्याक्टबीच गत मार्च १० मा सम्पन्न पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा ‘श्रम संसार’ प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्ने साझेदारीमा हस्ताक्षर भएको थियो । रासस