घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार छन् । बिहान उज्यालो भएदेखि साँझ अबेरसम्म घार वरिपरि नै बस्न मन पराउने जयनारायण न्यौपाने अहिले भने घार देख्दा विक्षिप्त छन् ।
‘बगैँचाभरि मौरीको हेरचाह गरेर समयको गएको पत्तो हुँदैनथ्यो, अहिले मौरी सबै मासिएपछि घरमा दिन कटाउन गाह्रो भएको छ’, उनले भने, ‘हिजोका दिन खाना खाने समयबाहेक बगैँचामा नै बसेर दिन बिताउँथेँ, घरमा कोही आफन्त, साथीभाइ, इष्टमित्र आए पनि बगैँचातिर डुलाउँथेँ, अहिले बगैँचाभित्र पस्न पनि मन छैन, मौरीघार रित्ता देख्दा मन खिन्न भएर आउँछ ।’
‘छिमेकीले खेतबारीमा विषादी छर्कँदा मौरीमा ठूलो क्षति पुगेको छ, व्यवसायका क्रममा पहिलोपटक यस्तो क्षति भोग्नुपरेको छ, घारमा राखिएका मौरी मरेपछि बगैँचामा फर्कन मन छैन, रित्ता घार देखेर मन खिन्न बनेको छ’, उनले भने ।
बगैँचामा पसेर मौरीको हेरचाह, स्याहार गरेर उनले आफ्नो समय बिताए । मौरी नै जीवन जिउने साहारा थियो । बुढेशकालको साहारा र नयाँ पुस्तालाई मौरीपालन व्यवसायबारे जानकारी दिन आफ्नै घरमा व्यवसाय चलाएका हुन् । उनी उमेरले करिब आठ दशक भए पनि फूर्तिलो बनेर मौरीसँग रमाउँथे ।
मौरीसँग उनको एक किसिमको गहिरो मायाप्रेम नै बसेको छ । गत फागुनको पहिलो हप्ताबाट विषादीका कारण मौरी मर्न थालेको उनले बताए ।
लामो समयदेखि यस व्यवसाय सञ्चालन गर्दै आएका न्यौपानेले जीवनकालमै यस्तो महामारीका रूपमा क्षति भोग्नुपरेको सुनाए । आफ्ना अभिभावक गुमाउँदाभन्दा बढी पीडावोध भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्