Ads

तनहुँका कृषि भण्डारबाट म्याद गुज्रेका विषादी बरामद


तनहुँ, । जिल्लाका एग्रोभेट, कृषि र बीउ भण्डारबाट म्याद गुज्रेका रु दुई लाख ४० हजार ३६० बराबरको विषादी बरामद गरिएको छ । यही वैशाख १७ गते गरिएको अनुगमनका क्रममा व्यास नगरपालिका-४ र शुक्लागण्डकी नगरपालिका-२ का छ वटा कृषि भण्डारबाट उक्त परिमाणको विषादी बरामद गरिएको हो ।

कीटनाशक, ढुसीनाशक, मुसानाशक, झारनाशक विषाली तथा मल र खाद्य तत्व, स्टिकरलगायत म्याद गुज्रेका वस्तु बरामद गरिएको हो । विभिन्न तरकारीका म्याद गुज्रेका बीउ मात्रै रु ५१ हजार १४५ बराबरको बरामद गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुर, कृषि ज्ञान केन्द्र तनहुँ, जिल्ला प्रशासन कार्यालय, बाली संरक्षण प्रयोगशाला पोखराद्वारा संयुक्तरूपमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका विषादी तथा बीउ भेटिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो ।

जिल्लाका खुद्रा तथा थोक विषादी बिक्रेता पसलमा अनुगमन गर्दा अधिकांशमा म्याद गुज्रेका विषादी र बीउ भेटिएकाले बरामद गरी सिल गरिएको ज्ञान केन्द्रले जनाएको छ ।
कीटनाशक एक हजार ३७५ थान, ढुसीनाशक २३७ थान, मुसानाशक ४७ थान र झारनाशक विषादी १८ थान, मल तथा खाद्यतत्व २०० थान र स्टिकर ३५ थान बरामद गरिएको केन्द्रका सूचना अधिकारी परियारले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न तरकारीका बीउ ३५७ थान बराबरको म्याद गुज्रेको पाइएपछि बरामद गरिएको छ ।

बरामद गरिएका विषादी तथा बीउको विवरण र मुचुल्का गरी बोरामा सिल गरिएको परियारले बताउनुभयो । “अनुगमन गरिएका अधिकांश पसलमा म्याद गुज्रेका बीउबिजन, विषादी पाइएको छ । जसलाई व्यवस्थित बनाउन विषादी व्यवस्थापन ऐन कार्यान्वयन गर्नुपर्छ । ऐनमा दण्ड तथा जरिवाना गर्नुपर्ने लेखिएको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि मुद्दामा जानुपर्ने हुन्छ । जुन झन्झटिलो छ । त्योभन्दा उपभोक्ता संरक्षण ऐन र कालो बजारी ऐनका केही दण्डसजाय दिने गरी प्रक्रिया अघि बढाउछौँ ।”

बाली प्रयोगशाला पोखराका प्रमुख शालिकराम अधिकारीले बिक्रेताले आफू सुरक्षित हुनुपर्ने कुनै पनि मापदण्ड प्रयोग गरिएको नपाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “पसलमा भएका सामग्री विषादी मिश्रण भएका छन् । जसले खरिदकर्तालाई भन्दा बढी बिक्रेतालाई असर गर्छ । सुरक्षाका लागि सुरक्षित पहिरनको समेत प्रयोग गरिएको छैन । एक पटकका लागि सुझावसहित समय तोकेर सुरक्षाका सामग्री उपयोग गर्न सचेत गराएका छौँ ।”

कतिपय बिक्रेताले विषादी तथा बीउबिजन बिक्रीको अभिलेखसमेत राखेको नपाइएको अधिकारीले उल्लेख गर्नुभयो । “यसले उपभोक्तामाथि खेलवाड भएको देखिन्छ । जसलाई नियमन गर्नका लागि समयसमयमा अनुगमन गर्नुपर्ने आवश्यकता छ । बिक्रेता आफैँ पनि सचेत हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले अनुगमनका क्रममा अधिकांश बिक्रेता स्वास्थ्यप्रति सचेत नभएको पाइएको बताउनुभयो । पसलमा पनि पूजा सामग्री, प्लाष्टिकजन्य पदार्थ, मुडा, चिया कपलगायत दैनिक उपभोग्य सामग्री पनि बिक्री गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांश पसलमा विषादीसँगै घरायसी प्रयोजनका सामग्री पनि राखिएको पाइएको छ । एक हप्ताको अवधिमा छुट्याएर राख्न लगाइएको छ । म्याद गुज्रेका विषादी र बीउ भेटिएकाले आठ वटा प्लाष्टिक बोरामा राखेर सिल गरेका छौँ ।” आगामी दिनमा म्याद गुज्रेका विषादी तथा बीउ नराख्न सुझाव दिइएको उहाँले उल्लेख गर्नुभयो । अनुगमनका क्रममा अधिकांश पसलमा तालिम प्राप्त व्यक्ति नबसेर अन्य व्यक्ति बसेको पाइएकाले सचेत गराइएको छ ।

घिमिरेले भन्नुभयो, “एग्रोभेट, कृषि भण्डार र बीज भण्डारका सञ्चालक आफ्नो स्वास्थ्य तथा व्यवसाय वृद्धिका लागि आफैँ सचेत हुनुपर्ने हुन्छ । अन्य निकायले अनुगमन गरिरहनुपर्ने होइन । म्याद गुज्रेका विषादी, बीउबिजनले कृषि पेसाबाट विमुख हुने अवस्था आउन सक्छ । बिक्रेता सचेत भएमा कृषितर्फ आकर्षण बढ्छ । मार्ग निर्देशकका रूपमा रहेका बिक्रेता सचेत हुनुपर्छ ।”अनुगमनको क्रममा शुक्लागण्डकी नगरपालिका–६ का वाग्ले भेटनरी सेन्टरको विषादीको ९मिति २०८० माघ १ सकिएको० इजाजतपत्रको नवीकरण नभएको पाइएकाले नियमअनुसार पहल गर्न निर्देशन दिइएको केन्द्रले जनाएको छ । एग्रोभेट, कृषि भण्डार र बीज भण्डारमा एक हप्तापछि पुनःअनुगमन गर्ने र अटेर गरेको पाइएमा आवश्यक कारबाही गरिने केन्द्रका सूचना अधिकारी परियारले जानकारी दिनुभयो ।

एग्रोभेट, कृषि भण्डार र बीज भण्डार कृषकका मार्ग निर्देशक हुन् । मार्ग निर्देश गर्नुपर्ने भए पनि त्यसो गरेको पाइँदैन । आफैँ सचेत नहुँदा आफ्नो र उपभोक्ता दुवैको स्वास्थ्य समस्या आउने भन्दै सचेत रहन आग्रह गरिएको छ । आफैँ सचेत नहुँदा किसानमा सचेतना फैलन सकिँदैन । मार्गनिर्देश गर्ने निकाय नै सुरक्षित नहुँदा कृषि पेसातर्फ आकर्षण घट्दै गएको छ”, उहाँले भन्नुभयो । रासस

Ads

सम्बन्धित पोष्टहरू