Ads

‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’


कलैया बारा । खानेपानीमन्त्री प्रदीप यादवले खपरताता खानेपानी आयोजनाले बारास्थित कलैया उपमहानगरपालिका–८ का स्थानीयको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । कलैया–८ स्थित खपरताता खानेपानी आयोजनाको सोमबार यहाँ उद्घाटन गर्दै उनले लामो समयदेखि पानीको समस्या भोगिरहेका यहाँका नागरिकले अब घरमा शुद्ध र स्वच्छ खानेपानी उपभोग गर्न पाउने बताए ।

उनले भने “हामीले खपरताता खानेपानी आयोजनाको विधिवत् रूपमा सेवा सञ्चालन गरेका छौँ । सेवा सञ्चालनपछि यहाँ रहेको खानेपानीसम्बन्धी समस्या समाप्त भएसँगै शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् ।”मन्त्री यादवले प्रत्येक नेपालीलाई शुद्ध र सुरक्षित खानेपानी प्रदान गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोहीअनुसार अहिले मन्त्रालयले खानेपानीसम्बन्धी कामलाई तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिए।

नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरी सोमबारदेखि आयोजना सञ्चालनमा ल्याएको खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले जानकारी दिए । उनका अनुसार खपरताता खानेपानी आयोजना विधिवत् रूपमा सञ्चालन गरिएसँगै यहाँका नागरिकहरूमा खुशीयाली छाएको छ ।

कार्यक्रममा जसपा कार्यकारिणी सदस्य प्रमोद गुप्ता, प्रदेशसभाका पूर्वसांसद पारस साह, जसपा बाराका जिल्ला अध्यक्ष अजय पटेल, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, सङ्घीय परिषद्का सदस्य असलम आलम, लालदेव यादव, कलैया–८ का वडाध्यक्ष रञ्जीत चौरसिया, नेकपा माओवादी केन्द्र कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह, समाजवादी युवा सङ्घ बाराका जिल्ला अध्यक्ष सुजीत पाण्डेलगायत व्यक्तिहरूको उपस्थिति थियो । रासस

 

Ads

सम्बन्धित पोष्टहरू