धरान (सुनसरी),। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले खेलमा अग्रस्थानमा पुग्नका लागि समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनुभएको छ ।कोशी प्रदेश फुटबल सङ्घद्वारा आज यहाँ आयोजित ‘एशियाली फुटबल काउन्सिल (एएफसी ) लाइसेन्स ‘डी’ तहको सामुदायिक फुटबल प्रशिक्षक तालिमको उद्घाटन गर्दै मन्त्री हाङ्गामले खेलाडीबाट प्रशिक्षक बन्नु जीवनको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “फुटबल अब हिजोको जस्तो सजिलो खेल रहेन । समयसँगै खेलको स्वरूप मात्र होइन, प्रतिस्पर्धा र दक्षताको मापदण्ड पनि बदलिएको छ ।”
फुटबल प्रशिक्षक भएर नयाँ पुस्ता तयार गर्नु चुनौतीपूर्ण कार्य भएको उहाँले बताउनुभयो । “हिजोको समयमा हामी मोजाको बल बनाएर खाली खुट्टा खेल्थ्यौँ । तर अहिलेको पुस्ता आधुनिक जुत्ता र प्रविधिमैत्री बलको पहुँचसम्म पुगेको छ”, उहाँले भन्नुभयो ।
कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले नेपालको लक्ष्य दश वर्षभित्र विश्वकप फुटबलको प्रतिस्पर्धामा नेपालको सम्मानजनक उपस्थिति सुनिश्चित गर्नु रहेको बताउनुभयो । सो लक्ष्यमा पुग्न नेपाली फुटबललाई व्यवसायीकरण गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य दिपेन्द्र धिमालका अनुसार धरानस्थित एन्फा टेक्निकल सेन्टरमा चार दिनसम्म चल्ने आवासीय प्रशिक्षणमा कोशी प्रदेशका विभिन्न जिल्लाका ६० प्रशिक्षार्थी सहभागी छन् । एएफसी लाइसेन्स ‘डी’ को प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षक एएफसीबाट मान्यता प्राप्त हुनेछन् । रासस
प्रतिक्रिया दिनुहोस्