विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले पालिकाभित्र ‘मिलेर बसेका’ उत्कृष्ट दम्पतीलाई सम्मान गर्ने भएको छ ।
‘ढुकुर जोडी’ का रूपमा उनीहरूलाई सम्मान गरिने भन्दै नगरपालिकाले सूचना जारी गरेको हो ।
पछिल्लो समयमा सुन्दरहरैँचा नगरपालिकाको न्यायिक समितिमा पती-पत्नी बीचको झै-झगडा, इज्जतअनुसार खान-लाउन पाउनुपर्ने, लैंगिक हिंसा, गाली बेइज्जतीसम्बन्धी मुद्दा दिन-प्रतिदिन बढ्दै आएको हुनाले नयाँ अवधारणा ल्याइएको उपमेयर अकली चौधरीले बताइन् । समाजमा लामो समयदेखि विभिन्न आरोह-अवरोह पार गर्दै सुखद दाम्पत्य जीवनयापन गर्दै आएका जोडीलाई प्रोत्साहन गर्न कार्यक्रम राखिएको उनको भनाइ छ ।
उप मेयर चौधरीले बितेको ३ वर्षमा श्रीमान-श्रीमतीसँग सम्बन्धित १२६ वटा मुद्दा न्यायिक समितिमा परेको बताइन् । ७९/८० मा १९० मुद्दा आएकोमा ४१ वटा श्रीमान- श्रीमतीको झगडासँग सम्बन्धित थियो । यस्तै ८०/८१ मा २१२ मध्ये ६२ र यो वर्ष ८२ वटा दर्ता भएकोमा २३ वटा पति-पत्नी झगडासँग सम्बन्धित रहेको चौधरीले नेपाल प्रेसलाई बताइन् ।
ढुकुर जोडीका लागि नगरपालिकाले तोकेका मापदण्ड यस्ता छन्ः
१. कम्तीमा विवाह भएको १० वर्ष पुरा गरेको हुनु पर्ने ।
२. श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनु पर्ने ।
३. विवाह दर्ता गरेको हुनुपर्ने ।
४. स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिका बसोबास गरेको हुनुपर्ने ।
५. छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने ।
६. नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने ।
७. विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।
८. निरन्तर रूपमा संयुक्त परिवारमा (बुवा वा आमा/सासू वा ससुरा सँग) बसेको हुनुपर्ने । अलग भिन्न नभएको ।
९. बुवाआमा वा सासूससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।
१०. हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरूमा वा समाजमा श्रीमान्-श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।
११. निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दाबढी नबसेको ।
१२. माथि उल्लेखित शर्तहरू पूरा हुने कागजात फारमसहित पेश गर्नुपर्ने ।
प्रतिक्रिया दिनुहोस्