Ads

पर्यटन प्रवर्द्धनमा राससको फोटो पुस्तक उपयोगीः पर्यटनमन्त्री पाण्डे


काठमाडौँ,। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय समाचार समिति रासस फोटो पुस्तकले नेपालको प्रकृति, संस्कृति र सम्पदालाई तस्वीरका माध्यमबाट प्रवर्द्धन गरेको बताएका छन् ।राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ को आज सिंहदरबारस्थित मन्त्रालयमा ग्रहण गर्दै उनले पुस्तकले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री पाण्डेले भौतिक विकास, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, संस्कृतिलगायत मुलुकभित्र रहेका विविध पहिचानको उजागर गर्दै पुस्तकले ‘नेपालमा केही भइरहेको छ, सकारात्मक परिवर्तन भइरहेका छन्’ भन्ने आशाको सञ्चार गरेको धारणा राखे ।

उनले भने, “नेपालमा केही पनि भएको छैन भनेर निराशा सम्प्रेषण गर्ने प्रवृत्ति बढिरहेका बेलामा पुस्तकले आशाको सञ्चार भर्ने काम गरेको छ । मुलुकको पहिचान बोकेका मूल्यवान् तस्वीर खिच्नुहुने फोटो पत्रकार साथीहरू, पुस्तक प्रकाशनमा खटिनुहुने रासस व्यवस्थापनलगायत रासस परिवारलाई धन्यवाद दिन चाहन्छु ।”

पर्यटनमन्त्री पाण्डेले नेपालको परिचय र पहिचानलाई प्रवर्द्धन गर्न रासस फोटो पुस्तकको महत्त्वपूर्ण भूमिका रहने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।“राससको फोटो पुस्तकले नेपालको प्रकृति, संस्कृति, सम्पदा र भौतिक विकासलाई समेट्न खोजेको छ”, उनले भने, “यसले मुलुकमा भौतिक विकास निरन्तर भइरहेको छ भन्ने सन्देश दिनुका साथै नेपाल प्रकृति र संस्कृतिमा समृद्ध छ भन्ने सन्देश प्रवाह गरेको छ ।”

मन्त्री पाण्डेले आगामी दिनमा ‘रासस फोटो पुस्तक’ थप प्रकाशन गरेर बढीभन्दा बढी सङ्ख्यामा स्वदेशी तथा विदेशीको हातमा पुर्‍याउन मन्त्रालयले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले भने,“पर्यटन प्रवर्द्धन र पर्यटकीय गन्तव्यका बारेमा जानकारी उपलब्ध गराउन पुस्तकले महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिएको छु । रासस, पर्यटन मन्त्रालय र मातहतका अन्य निकायबीच सहकार्य र समन्वय गरेर पुस्तकको पुनःप्रकाशन र थप वितरण गर्नुपर्ने जरुरी छ ।”

फोटो पुस्तक हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो पुस्तक पुनःप्रकाशनका लागि सहयोग गर्न पर्यटनमन्त्री, मन्त्रालय र मातहतका सबैलाई आग्रह गरे। उनले फोटो पुस्तकले ‘नेपालमा विकास भएन, कुनै पनि सकारात्मक काम भएनन्’ भनेर स्थापित गर्न खोजिएको गलत भाष्यलाई चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष झाले मन्त्री पाण्डेलाई फोटो पुस्तक तयारी, छपाइ प्रक्रिया, समेटिएका विषयवस्तुलगायत विषयमा जानकारी गराउँदै पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा भाषा, संस्कृति र सम्पादाको संरक्षण एवं सम्वर्द्धनमा पुस्तक उपयोगी हुने बताए ।

उनका अनुसार पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० जना फोटो पत्रकारले खिच्नुभएका एक सय ८२ वटा तस्वीर समावेश छन् ।

राससले ६४औँ वार्षिकोत्सवका अवसरमा ‘राससको फोटो किताबः गणतन्त्रको १६ वर्ष’ पुस्तक प्रकाशन गरेको थियो । पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोको पनि उपस्थिति थियो । रासस

Ads

सम्बन्धित पोष्टहरू