Ads

लघुवित्तलाई आधार दरअनुसार कर्जा निर्धारण गर्न दिने राष्ट्र बैंकको तयारी


 काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूलाई आधार दरअनुसार कर्जा निर्धारण गर्न दिने नेपाल राष्ट्र बैंकले तयारी गरेको छ । उनीहरूलाई वाणिज्य बैंकसरह आधार दरअनुसार ब्याजदर निर्धारण गराउन खोजिएको राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबार प्रकाशित मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले उनीहरूलाई माघदेखि आधार दर सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत लागू गरेको छ । माघदेखि लघुवित्तहरूले आधार दर सार्वजनिक गर्न सकेमा अर्धवार्षिक समीक्षामार्फत बैंकहरूसरह कर्जा निर्धारण गर्न दिने श्रेष्ठले बताए । उनले भने, ‘लघुवित्तहरूलाई अहिले आधार दर सार्वजनिक गर्न भनेका छौं ।

उनीहरूले यो निकाल्न सके भने अर्धवार्षिक समीक्षामार्फत उनीहरूलाई आधार दर अनुसार कर्जा निर्धारण गर्न दिनेछौं ।’अहिले राष्ट्र बैंकले लघुवित्तहरूलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने सीमा लगाएको छ । वाणिज्य बैंकहरूले पछिल्लो समय धमाधम कर्जाको ब्याजदर बढाउन थालेपछि लघुवित्त बैंकरहरूले आफूहरू मारमा परेको गुनासो गरिरहेका थिए।

Ads

सम्बन्धित पोष्टहरू