विपक्षी दलको विरोधका बाबजुद संसद् बैठक अगाडि बढाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको सोमवारको बैठक पनि बहिष्कार गरेको छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर राप्रपा अध्यक्ष लिङदेनले संसद् अवरोध नखुल्दासम्म बैठक बहिष्कार गर्ने बताएका हुन् ।
‘संसद्मा जे भइरहेको छ, त्यो स्वभाविक छैन । सभामुख संसद्को अभिभावक हो, संसद्मा दुइटा महत्वपूर्ण राजनीतिक दलले आफ्नो फरक मत राखेका छन् । विरोध जारी राखेको बेला संसद् अगाडि बढाउनु संसदीय मर्यादाका लागि राम्रो हुँदैन,’ लिङदेनले भने, ‘संसद् अवरुद्ध भइरहेको बेला जबरजस्त अगाडि बढाउने कर्मकाण्ड बहिष्कार गर्छौ । बैठक बहिष्कार गरेको दिन राप्रपा सांसदको नाममा आउने बैठक भत्ता राजश्वमा फिर्ता गरिदिनु हुन अनुरोध छ ।’
रास्वपाको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले संसद्को बैठक अगाडि बढाएपछि राप्रपाले बैठक बहिष्कार गरेको हो । लिङदेनले सभामुखले संसद्मा तटस्थ र निष्पक्ष भूमिका खेल्नुपर्ने बताए ।
‘संसद्मा एकसय सिट भएको र १ दल भएको पार्टीको मर्यादा उत्तिकै हुनुपर्छ । विरोध जारी राखेको बेला संसद् अगाडि बढाउनु अमर्यादित विषय हो । जबरजस्त अगाडि बढाउन मिल्दैन,’ लिङदेनले भने ।
आइतवार पनि राप्रपाले संसदको बैठक बहिष्कार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्