Ads

कालिका नगरपालिकामा ९५ करोड ७ लाखको बजेट प्रस्तुत


कालिका,। चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । बुधबार सातौं नगर सभामा उपमेयर विमला तामाङले अनुमानित आन्तरिक आय ७ करोड तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानलाई अनुमान गरेर बजेट प्रस्तुत गरे । कालिका नगरपालिकाले आगामी बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको मेयर विनोद रेग्मीले जानकारी दिए ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि व्यवसाय दर्ता र नवीकरण शुल्क एक सय रूपैयाँ मात्रै लिने गरी बजेट ल्याएको रेग्मीले बताए । ’कृषि व्यवसाय दर्ता गर्दा यसअघि एक हजारदेखि पाँच हजार रूपैयाँसम्म शुल्क तिर्नुपथ्र्यो । अब दर्ता र नवीकरणमा एक सय रूपैयाँभन्दा तिर्नुपर्दैन,’ मेयर रेग्मीले भने, ’कृषि क्षेत्रको विकासमा प्रोत्साहन गर्न छुट तथा अनुदानका कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं । ’कालिका नगरपालिकामा मह, केरा, च्याउ तथा अन्य तरकारी खेती विस्तार भइरहेको छ ।

दूध र मासुका लागि व्यवसायिक पशुपालन पनि बढिरहेको छ । कृषि तथा पशुपालनको क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने गरी नीति तथा कार्यक्रम र बजेट तयार गरिएको जानकारी मेयर रेग्मीले दिए । उनले मह, च्याउ, केरा, रैथाने कोदो, फापर, अदुवा, हलेदो, पिँडालु लगायत कालिकाका स्थानीय उत्पादन बढाउन र बजारीकरण गर्न यान्त्रिकीकरण र सिँचाइमा लगानी बढाउने बताए । चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रमलाई पनि प्राथमिकतामा राखेर बजेट तयार पारेको जानकारी उनले दिए । कालिका नगरपालिकाको वडा नम्बर १० र ११ चेपाङ बाहुल्य वडा हुन ।

नगरपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने उपमेयर विमला तामाङले जानकारी दिए । कालिका नगरपालिकाले चालु आर्थिक वर्षका लागि ९२ करोड ९७ लाख ७४ हजार रूपैयाँको बजेट ल्याएको थियो । यस वर्षको जेठ मसान्तसम्ममा चालु खर्च ७२।३४ प्रतिशत र पुँजीगत खर्च ४२।७७ प्रतिशत खर्च भएको वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू