Ads

नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध छ : उपाध्यक्ष घिमिरे


राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले नेपाल–चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताएकी छन् ।

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजिता सिचाङसम्बन्धी साताव्यापी सांस्कृतिक कार्यक्रमको उद्घाटनमा उपाध्यक्ष घिमिरेले दुई देशबीचको सम्बन्ध कूटनीतिभन्दा माथि रहेको बताएकी हुन् ।

‘हामी नेपाल र चीनबीचको सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाइरहेका छौं । तर, हामीबीचको सम्बन्ध कूटनीतिक सम्बन्धमा सीमित छैन,’ घिमिरेले भनिन्, ‘हिमाल, पहाड, नदी र सांस्कृतिक धेरै कुराले हामीलाई जोडेको छ ।’

नेपाल र चीनको तिब्बतबीच सयौं वर्षदेखि सांस्कृतिक सम्बन्ध रहिआएको भन्दै उनले भृकुटी र स्रङचङ गम्पोको सम्बन्ध, अरनिकोले चीनमा बनाएका कलाकृतिले नेपाल र चीनलाई थप जोडेको उनले बताइन् । बौद्ध धर्म, संस्कृति र परम्पराले दुई देशबीचलाई थप जोडेको उनले बताइन् । नेपाल र चीनबीच, सामाजिक, आर्थिक, सांस्कृतिक सबै पक्षले महत्त्वपूर्ण सम्बन्ध रहेको चर्चा उनले गरिन् ।

नेपालको लागि चिनियाँ राजदूत चेन सङले सयौं वर्षदेखि सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्धमा रहेको नेपालसँग अझै प्रभावकारी सम्बन्धको पक्षमा रहेको बताए । दुई देशबीच हिमाल, नदी, संस्कृतिका साझा विषयले जोडिएकोसमेत उनले बताए । नेपाल, चीनको सिचाङ सम्बन्ध बहुआयामिक रहेको उनले बताए ।

चीनको सिजाङ प्रतिनिधिमण्डलका प्रमुख र सिजाङ अन्तर्राष्ट्रिय संस्कृति संघका उपाध्यक्ष लुओ जुनले नेपाल र चीनबीच परम्परागत रूपमा बहुआयामिक सम्बन्धमा रहेको बताए । दुई देशलाई हिमाल र नदी प्रणालीले पनि जोडेको भन्दै उनले सांस्कृतिक र सामाजिक सम्बन्ध धेरै माथि रहेको बताए । दुई देशका सीमा क्षेत्रमा सामाजिक सांस्कृतिक सम्बन्धले थप जोडेको उनले बताए ।

वर्षौदेखि थाङ्का, चिनियाँ र नेपाली कला, संस्कृतिले छिमेकीलाई थप आत्मीय बनाएको उनको भनाइ थियो । चीनले पछिल्ला दशकमा आर्थिक रूपमा ठूलो फड्को मारेको भन्दै उनले छिमेकीको प्रगतिबाट नेपालले पनि प्रशस्तै लाभ लिन सक्ने बताए ।

कार्यक्रममा चीनले देशको सिचाङ क्षेत्र र चीनमा गरेको सामाजिक, सांस्कृतिक, आर्थिक विकास, रहनसहन र वैभवबारे समेटिएको फोटो प्रदर्शनीपनि गरिएको थियो । एक सातासम्म चीनका सिचाङको सांस्कृतिक कार्यक्रम काठमाडौंमा चल्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू