चितवन, । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले एक वर्षमा ४८ ट्युबवेल निर्माण गरेको छ । त्यसले एक हजारभन्दा बढी बिघा जमिनमा थप सिँचाइ हुने भएको हो । कार्यालय प्रमुख विश्वबन्धु केसीका अनुसार चालु आर्थिक वर्षमा चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी यो ट्युबवेल निर्माण गरिएको हो । नवलपरासीमा १७ ट्युबवेल निर्माण गरिएको छ । गैँडाकोटमा पाँच, देवचुलीमा एउटा, कावासोतीमा चार, मध्यबिन्दु नगरपालिमा तीन र विनयी त्रिवेणी गाउँपालिकामा चार ट्युबवेल निर्माण गरिएको छ ।
विसं २०७६ मा भरतपुरमा स्थापना भएको यस कार्यालयले विसं २०७७ बाट चितवनमा ट्युबवेल निर्माण थालिएको हो । केसीका अनुसार हालसम्म चितवनमा १०० हाराहारी ट्युबवेल निर्माण गरिसकिएका छन् । आव २०७९/८० बाट मकवानपुरमा र २०८०/८१ बाट नवलपरासीमा ट्युबवेल निर्माण थालिएको हो ।
उहाँका अनुसार एउटा ट्युबवेल निर्माण गर्न ठाउँअनुसार रु ६५ लाख हाराहारी खर्च हुने गर्दछ । चालु आर्थिक वर्षमा ट्युबवेल, लिफ्ट निर्माण र मर्मतका लागि रु ३७ करोड बजेट विनियोजन भएको थियो । त्यसबाट ट्युबवेल खन्ने, मोटर जडान गर्ने, विद्युतीकरण, पम्प घर निर्माण, वितरण प्रणाली निर्माण (भूमिगत पाइपलाइन विस्तार) गरिएको हो । यस आर्थिक वर्षमा रु एक करोड मर्मतका लागि बजेट निकासा भई खर्च गरिएको उहाँले जानकारी दिनुभयो । ठाउँअनुसार एउटा ट्युबवेलले ६० बिघासम्म सिँचाइ हुने गरेको छ । कतिपय ठाउँमा थोरै क्षेत्रफलमा मात्रै सिँचाइ हुने गरेको छ । यस वर्ष जडान गरिएका ट्युबवेलबाट एक हजार बिघा हाराहारी थप सिँचाइ पुगेको केसीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्