काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको ‘टेक एण्ड पे’ विद्यु्त खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै इप्पानले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले टेक एण्ड पे पीपीए हटाएपछि अब इप्पानको ध्यान नेपाल सरकारले अघि सारेको ऊर्जा विकास लक्ष्यमा केन्द्रित हुने बताए।
सरकारले अब आन्दोलनमा जाने वातावरण नबनाउने भन्दै उनले ऊर्जा क्षेत्रमा थप लगानीका लागि सक्रिय हुने धारणा राखे। ‘टेक एण्ड पे’ का कारण हालसम्म निजी क्षेत्रबाट लगानी भएको १ खर्ब ९ अर्ब रुपैयाँ डुब्ने अवस्था सिर्जना भएपछि आफूहरूले सरोकारवाला निकायलाई उक्त प्रावधान हटाउन ध्यानाकर्षण गराएको र सरकारले आफूहरूको मागलाई सम्बोधन गरेको अध्यक्ष कार्कीले बताए।
बजेटमै टेक एण्ड पे पीपीए गर्ने घोषणा भएकोमा यसलाई परिवर्तन गरी वित्तीय जोखिम मूल्यांकनको आधारमा ऊर्जा खपत र निर्यात हुने यकिन भएका विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाहरूको पीपीए गर्न सकिने उल्लेख गरिएको उनको भनाइ छ। अध्यक्ष कार्कीले इप्पानले गरेको भद्र र शान्तिपूर्ण आन्दोलनबाटै टेक एण्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जिकिर गरे।
ऊर्जा विकास मार्गचित्र, २०८१ को आधारमा पीपीए खुला भई निजी क्षेत्रले ढुक्कका साथ लगानी गर्ने वातावरण निर्माण हुने अपेक्षा गरिएको उनले बताए। उनले सरकारको १३ हजार ५०० मेगावाट आन्तरिक खपत गर्ने तथा १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजनालाई सफल बनाउने दायित्व निजी क्षेत्रको पनि भएको समेत बताए।
प्रतिक्रिया दिनुहोस्