काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी प्रकरणमा अनुसन्धान गर्न बनेको छानबिन विशेष समितिको पहिलो बैठक आज बस्दैछ ।
सभामुख देवराज घिमिरेको उपस्थितिमा बैठक दिउँसो १२ बजे संसद् भवनस्थित शङ्कर हलमा बस्ने भएको हो ।
समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेका छन् । संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा कांग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा छन् ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् । समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो ।
यसबारे व्यापक विरोध र आलोचनापछि छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो । उक्त समितिको पहिलो बैठक आज बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्