Ads

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह


काठमाडौं,। नारायणी नदी जलाधार अन्तर्गतको त्रिशूली उपजलाधारमा पर्ने भोटेकोशी नदीमा मङ्गलबार बिहान तिब्बत क्षेत्रबाट आएको ठूलो बाढी प्रवेश गरेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभाग अन्तर्गतको रसुवा–स्याफ्रुवेसीस्थित भोटेकोशी जलमापन केन्द्रमा मङ्गलबार बिहान ३ः३० बजे बाढी पुगेको विभागले जानकारी दिएको छ । त्यसपछि बाढी त्रिशूली नदी हुँदै बिहान ५ बजे नुवाकोटको वेत्रावती केन्द्रसम्म पुगेको विभागको भनाइ छ । विभागका अनुसार बेत्रावती केन्द्रमा जलस्तर करिब २.५ मिटरले वृद्धि भएको र पछिल्लो समय केही घट्दो क्रममा रहेको देखिएको छ ।

प्रारम्भिक विश्लेषणअनुसार, बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्न सक्ने भएकाले मङ्गलबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागले जनाएको छ । बाढी पूर्वानुमान शाखाले बाढीको निरन्तर अनुगमन गरिरहेको र यसको सम्भावित कारणको प्रारम्भिक अध्ययन पनि सुरु गरिएको जानकारी दिएको छ ।

विभागले त्रिशूली नदी किनाराका स्थानीयवासी, यात्रीहरू र सरोकारवाला निकायहरूलाई सावधानी अपनाउन आग्रह गर्दै, थप जानकारी र सतर्कताका सूचनाहरू विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध हुने जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू