Ads

नयाँ स्टक एक्सचेन्ज खोल्न दिनु जनता ठग्ने तरिका हो: शाही


काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले निजी क्षेत्रलाई तत्काल नयाँ स्टक एक्सचेन्ज खोल्न दिनु जनतालाई ठग्ने अर्को तरिका मात्रै हुने बताएका छन्।

बिहीबार बसेको अर्थ समिति बैठकमा बोल्दै शाहीले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नभएको बताए। नयाँ स्टक एक्सचेन्ज खोल्नुभन्दा हाल सञ्चालनमा रहेको धितोपत्र बोर्ड (सेबोन) को गुणस्तर र कार्यक्षमतामा वृद्धि गरिनुपर्ने उनको सुझाव छ।

उनले जबसम्म विद्यमान नियामक निकाय र बजार संरचनालाई बलियो बनाइँदैन, तबसम्म नयाँ स्टक एक्सचेन्ज ल्याउनुको कुनै औचित्य नहुने बताए।

शाहीले पुँजी बजारमा देखिएको अपारदर्शिता, बजार चलखेल र प्रभावकारी नियमनको अभावलाई नयाँ स्टक एक्सचेन्ज खोल्नुअघि समाधान गरिनुपर्ने विषयका रूपमा प्रस्तुत गरे।

उनले विगतमा पनि पुँजी बजारमा भएका विभिन्न अनियमितताका घटनाहरूलाई स्मरण गराउँदै नियामक निकायको क्षमता अभिवृद्धि नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए।

नेपालमा लामो समयदेखि दोस्रो स्टक एक्सचेन्जको आवश्यकता र औचित्यबारे बहस चल्दै आएको छ। सरकारी र निजी दुवै क्षेत्रबाट यसको स्थापनाका लागि चासो देखाइएको थियो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एकाधिकार तोड्न र बजारमा प्रतिस्पर्धा बढाउनका लागि नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको भन्ने तर्क एकातिर छ।

यसले बजारलाई थप प्रतिस्पर्धी, पारदर्शी र आधुनिक बनाउने, लगानीकर्तालाई थप विकल्प दिने र नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास गरिन्छ।

तर, शाहीसँगै अन्य केही सांसद तथा विज्ञहरूले भने नेपालको पुँजी बजारको हालको आकार र सीमिततालाई हेर्दा दोस्रो स्टक एक्सचेन्ज तत्काल आवश्यक नभएको तर्क गर्दै आएका छन्।

Ads

सम्बन्धित पोष्टहरू