काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत सरकारको एक वर्षको समिक्षा गर्दै, देशको प्रमुख संरचनात्मक समस्या समाधान गर्न पुराना ठूला दलहरू पूर्णतः असफल भएको टिप्पणी गरेका छन्।
उनका अनुसार संसदका दुई ठूला दलहरूबीचको सहमतिमा बनेको वर्तमान सरकारको सबैभन्दा ठूलो ‘उपलब्धि’ भनेको आम जनताले अब यस्ता दलहरूबाट कुनै परिवर्तनको आशा गर्न नसक्ने अवस्थामा पुगेको हो। “अब पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्मक समस्याहरू—जसमा संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि पर्छन्—हल हुनै सक्दैन भन्ने कुरा व्यवहारमै प्रमाणित भएको छ,” डा. भट्टराईले लेखेका छन्।
उनले वर्तमान सरकार मात्र नभई, विगतमा सरकारको नेतृत्व गरेका तेस्रो ठूला दलका एकल नेताले समेत यस्ता समस्यामा कुनै ठोस परिणाम दिन नसकेको पनि स्मरण गराएका छन्। “पटक–पटक च्याँखे थापेर नेतृत्व गरे पनि, यिनले समेत गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएको हो,” उनले थपे।
डा. भट्टराईको ठम्याइमा, अब नेपाली राजनीतिमा ‘कोर्टको बल’ वैकल्पिक शक्तिहरूको हातमा ढिलोचाँडो आउने निश्चित छ। उनले भनेका छन्, “अब इतिहासको कोर्टको बल वैकल्पिक शक्तिहरूको हातमा आउँछ—यो अवश्यम्भावी छ। तर प्रश्न हो, ती शक्तिहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ?”
उनले आगामी दिनको राजनीतिक विमर्श अब वैकल्पिक राजनीतिक शक्ति निर्माण र त्यसको व्यवहारिक तयारीमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, देशको वास्तविक आवश्यकता बुझी सबैले ‘आ–आफ्नो छातीमा हात राखेर ममः भन्न’पर्ने समय आएको उनले उल्लेख गरेका छन्।
डा. भट्टराईको यो टिप्पणी सत्तारूढ गठबन्धनको एक वर्ष पूरा भएको सन्दर्भमा आएको हो। यसले वैकल्पिक राजनीतिक विचार र नेतृत्वको खाँचोबारे बहस थप चर्काउने संकेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्