Ads

स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमण सफल रहेको स्पष्ट पार्दै त्यसको महत्वलाई ओझेल पार्ने प्रयास गरिएकोमा आपत्ति जनाएका छन्। उनले केही विरोधी र अराजक तत्वहरूले ‘स्पेनमा मान्छे छाडेर आयो’ भन्ने झूटो र आधारहीन प्रचार गरी भ्रम फैलाउने काम गरेको बताए।

झापाको दमक नगरपालिका–७ मा मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्ता निराधार आरोपहरूको खण्डन गर्दै ती प्रचारको कुनै जवाफ आवश्यक नरहेको बताएका हुन्। “सत्य बोल्नेहरूलाई झूटको जवाफ दिनु पर्दैन,” प्रधानमन्त्री ओलीले टिप्पणी गरे।

विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडक नेपालभरका १७ नमूना सडकमध्ये एक हो। झापा जिल्लामा गौरवको आयोजनाको रूपमा ४.८६ किलोमिटर लामो यो सडक ४४ करोड २४ लाख रुपैयाँ लागतमा समयमै सम्पन्न भएको हो। प्रधानमन्त्री ओलीले यो आयोजना मुलुकमा विकास निर्माणको लहर ल्याउने सरकारको संकल्पको एउटा उदाहरण भएको उल्लेख गरे।

“मेचीदेखि महाकालीसम्म सुरु गरेका कामहरू पुरा गर्ने अभियानमा हामी लागेका छौं,” प्रधानमन्त्री ओलीले भने। उनले दमकको बेलडाँगी क्षेत्रमा एक भव्य रंगशाला निर्माण हुने पनि घोषणा गरे।

प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा सुधार ल्याउने अभियान अन्तर्गत सञ्चालन गरिएको नि:शुल्क अनलाइन कक्षाको चर्चा गर्दै यस वर्षको एसईई नतिजा १३ प्रतिशतले सुधार भएको दाबीसमेत दोहोर्याए।

उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री शेरधन राई, उदय थापा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Ads

सम्बन्धित पोष्टहरू