Ads

“देश बहुआयामिक संकटको संघारमा छ, सत्ताको कार्यशैलीले शान्ति सम्झौताको सपना अपमानित गर्‍याे”


प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर र बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। विस्तृत शान्ति सम्झौता र संविधान निर्माणको क्रममा जनतासँग गरिएका प्रतिबद्धता र सपना आजको यथार्थसँग मेल नखाने बताएर उनले वर्तमान सत्ताको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन्।

“शान्ति प्रक्रियाका बेला हामीले देखेका सपना, जनतासँग गरेका वाचा र प्रतिबद्धता वर्तमान सत्ताको चरित्रले अपमानित बनाएको छ,” अध्यक्ष प्रचण्डले भने, “भ्रष्टाचार, अराजकता र संस्थागत बेथिति मौलाएको अवस्था रहेको छ, जसले जनताको विश्वास टुटाउने काम गरिरहेको छ।”

प्रचण्डले पछाडि पारिएका समुदायहरूको हक–अधिकार संरक्षण गर्न राज्य असफल भएको आरोप समेत लगाए। सार्वजनिक सेवामा सर्वसाधारणको सहज पहुँच नरहेको, सेवा प्रवाह कमजोर बनेको र सामाजिक न्यायका सवालमा सरकारको तत्परता देखिँदैन भन्ने उनको गुनासो थियो।

संसद तथा संसदीय समितिहरूको प्रभावकारिता कमजोर भएको भन्दै प्रचण्डले विधेयकहरू सर्वसम्मत रूपमा पारित भए पनि प्रतिनिधिसभामा पुर्‍याउने क्रममा हुने चलखेल र हस्तक्षेपले प्रक्रिया बिग्रिएको आरोप लगाए। “दुई ठूला दलहरूको मिलोमतोमा संसदलाई विचौलियाहरूको खेलमैदान बनाइएको छ, जुन राष्ट्रिय राजनीति र जनताका लागि लज्जास्पद र खेदजनक हो,” उनले भने।

लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि अपरिहार्य भएको बताउँदै अध्यक्ष प्रचण्डले अब पनि गम्भीर समीक्षा र कठोर निर्णयहरू नभए परिस्थिति विस्फोटक बन्न सक्ने चेतावनी दिए। “लोकतन्त्रको नाममा हुँदै आएका विकृति, विसंगति र संस्थागत असफलताहरू सुधार नगरे परिस्थितिले गम्भीर मोड लिन सक्छ,” उनले चेतावनी दिए।

प्रचण्डको वक्तव्य सत्तामा रहेका दलहरूका लागि चुनौतीपूर्ण सन्देशको रूपमा आएको छ। उनले प्रस्तुत गरेका सवालहरूले समग्र राजनीतिक प्रणाली र शासनप्रति प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ।

Ads

सम्बन्धित पोष्टहरू