Ads

भ्रष्टाचारमा लिप्त वर्तमान सरकारविरुद्ध सडकबाट प्रतिवाद गर्ने प्रचण्डकाे चेतावनी


काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको सवालमा अत्यन्तै जटिल मोडमा रहेको बताएका छन्।

बिहीबार ललितपुरमा आयोजित ‘श्रम–उत्पादनमा वाइसिएल अभियान’को उद्घाटन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकारलाई सुशासनविरोधी करार दिँदै त्यसले मुलुकलाई असफलतातर्फ धकेलिरहेको आरोप लगाए।

उनले भने, “देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ। अहिलेको सरकार जहाँ टेक्छ, त्यहाँ भ्रष्टाचार बाहेक केही देखिँदैन। यो सरकार सुशासनको विपक्षमा खडा भएको छ र देशलाई असफल बनाउने दिशामा अग्रसर छ।”

दाहालले सरकारलाई पटक–पटक खबरदारी गर्दा पनि त्यसले जनभावनाको अवमूल्यन गरेको र भ्रष्टाचारमा लिप्त हुन नछाडेको उल्लेख गर्दै प्रतिवादको विकल्प सडक संघर्ष हुने चेतावनी पनि दिए।

“हामीले चेतावनी दिँदै आएका थियौं। तर सरकार कानमा तेल हालेर बसेको छ। अब जनताको पक्षमा, सुशासन र सामाजिक न्यायको पक्षमा सडकबाटै प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्छ,” उनले भने।

अध्यक्ष दाहालले युवाहरुलाई संगठित गर्दै श्रम र उत्पादनमा सक्रिय सहभागी गराउने अभियानलाई अबको परिवर्तनको मेरुदण्डका रूपमा अघि बढाउनु पर्ने बताए। उनले जनसंगठन, विशेषतः वाइसिएलमार्फत श्रम उत्पादनलाई मूल नारा बनाउँदै समृद्ध नेपाल निर्माणमा योगदान दिनुपर्ने आवश्यकता औँल्याए।

“युवाहरुलाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउने प्रयास गर्नेहरूमाथि विजय हासिल गर्न सकिन्छ,” उनले जोड दिए।

Ads

सम्बन्धित पोष्टहरू