काठमाडौं । नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सीमित हुन थालेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा नेपाल–बेलायत संसदीयमैत्री समूहको बैठकमा नेम्वाङले अहिले संसद्मा भइरहेको नैराश्यता र नकारात्मकता फैल्याउने कामले संसदीय मर्यादामाथि प्रश्न उठाउने जिकिर गरे ।
“यत्तिकै त नैराश्यता र नकारात्मकताको हाम्रो अहिले संसदीय अभ्यास भइरहेको छ । महत्त्वपूर्ण कुराहरू जनताले क्लियरल्ली सुन्न पाउँदा राम्रो हुन्छ । कानुनलाई जीवन्त बनाउने काम भनेको हामी सबैको हो,” उनले भने ।
सांसद नेम्वाङले जनताको करबाट विदेश भ्रमण गर्ने र त्यसको उपलब्धि नहुने आरोप सांसदहरूमाथि लाग्ने गरेको भन्दै त्यसलाई चिर्न विदेशमा सिकेका कुरा स्वदेशमा लागु गर्न जरुरी रहेको बताए ।
“बेलायतमा भएको संसदीय अभ्यास कुन तरिकाले आफ्नो अभ्यासलाई निरन्तरता दिन्छन्, काम गर्छन् भन्ने हो । हामीले जनता र देशको भूगोललाई मध्यनजरमा राखेर काम गर्नुपर्छ । किनभने बेलायतको व्यवस्था यहाँ सिकिरहँदा हुबहु नेपालमा लागु गर्न सक्छौँ कि सक्दैनौँ, हुबहु लागु नहुन सक्छ । तर, उनीहरूको ज्ञान र अनुभव लिइरहनुपर्छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्