Ads

दिक्तेलका मेयरले माइतीघर मण्डलामा सुरु गरे ‘सत्याग्रह’


खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण सत्याग्रह सुरु गरेका छन्। संघीय कानुनले स्थानीय कच्चा पदार्थ प्रयोगमा बाधा पुर्‍याएको भन्दै उनले उक्त ऐन संशोधनको मागसहित सात बुँदे माग सार्वजनिक गरेका छन्।

‘पैसा छैन, नीति देऊ!’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔँ!’ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनले माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका हुन्। कपाल मुण्डन गरी सेतो कपडामा सजिएर उनी परालको गुन्द्रीमाथि कम्बल ओछ्याएर बसेका छन्। छेउमा बाँसका भाटा र वातावरण संरक्षणका सन्देशसहितको उपस्थितिले उनको आन्दोलन अझ गम्भीर र प्रतीकात्मक बनेको छ।

सुरुमा उनी सिंहदरबार दक्षिण गेटअगाडि सत्याग्रह गर्न चाहन्थे, तर त्यहाँ निषेधित क्षेत्र घोषणा गरिएकाले माइतीघरलाई आन्दोलनको केन्द्र बनाइएको हो। स्थानीय अगुवा, जनप्रतिनिधि र शुभेच्छुकहरूले उनको सत्याग्रहमा ऐक्यबद्धता जनाएका छन्।

सात बुँदे माग: प्रकृति, नीति र स्थानीय स्वावलम्बनमा जोड
मेयर भट्टराईले प्रस्तुत गरेका सात बुँदे मागमा जलवायु परिवर्तन, प्राकृतिक स्रोतको उपयोग, वातावरणीय संरक्षण, स्थानीय कच्चा पदार्थको सदुपयोग, बाँस उद्योगको प्रवर्द्धन, निर्माण व्यवसायको उत्तरदायित्व, र जंगली जनावरको व्यवस्थापनजस्ता विषय समेटिएका छन्।

१. हिमाल र संस्कृतिको संरक्षण
जलवायु परिवर्तनका कारण काला पहाडमा बदलिँदै गइरहेका हिमाली क्षेत्रको जैविक विविधता र रैथाने संस्कृति जोगाउन नीति निर्माणको माग गरिएको छ। साथै, नेपालले कार्बन उत्सर्जन नगरेको हुँदा अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको माग गर्नुपर्ने उनले बताएका छन्।

२. बाँसलाई राष्ट्रिय प्राथमिकता बनाऔँ
७५३ वटै पालिकामा बाँस रोप्ने नीति ल्याउन र सरकारी संरचनामा बाँस तथा काठ प्रयोगलाई प्राथमिकता दिनु पर्ने माग छ। खोटाङलाई औपचारिक रूपमा “बाँसको राजधानी” घोषणा गर्न आग्रह गरिएको छ।

३. प्रदूषणमा कर, हरियालीमा जोड
प्रदूषण फैलाउने कम्पनी, सवारी साधन, प्लास्टिक उद्योगबाट अतिरिक्त कर उठाएर वातावरणमैत्री संरचना विकास गर्नुपर्ने माग गरिएको छ।

४. अनियन्त्रित उत्खनन र डोजर संस्कृति नियन्त्रण
खोला-नदी तथा पाखा-भीरमा जथाभावी उत्खननले वातावरणीय सन्तुलन बिग्रिएको भन्दै कानून बनाएर कडाइ गर्न माग गरिएको छ।

५. सरकारी कार्यालयमा वातावरणमैत्री सामानको प्रयोग
सरकारी कार्यालयमा स्थानीय कच्चा पदार्थबाट बनेका पर्यावरणमैत्री फर्निचर तथा संरचना प्रयोगमा जोड दिइएको छ।

६. निर्माण व्यवसायमा उत्तरदायित्व
गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कारबाही र राम्रो काम गर्नेहरूलाई सम्मान गर्ने नीति बनाउन माग गरिएको छ।

७. बाँदर आतङ्क नियन्त्रण र बसाईसराई रोक्न पहल
बाँदरको आतंकका कारण बसाईसराई गर्नुपरेको पीडालाई सम्बोधन गर्दै जनावर व्यवस्थापन र कृषकलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ।

मेयर भट्टराईको सत्याग्रह केवल व्यक्तिगत होइन, स्थानीय स्वराज र प्राकृतिक स्रोतको अधिकारको प्रतीक बनिरहेको छ। उनको भनाइमा, “हामी पैसा मागेका होइनौं, नीति मागेका हौं — ताकि स्थानीय स्रोतबाट आत्मनिर्भर समाज निर्माण गर्न सकियोस्।”

Ads

सम्बन्धित पोष्टहरू