नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। बागलुङस्थित ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक पुगेकोमा चालु आर्थिक वर्ष २०८१/८२ मा उक्त संख्या आठ हजारले वृद्धि भएर २३ हजार ६९२ पुगेको छ।
आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार विदेशी पर्यटकको संख्या भने न्यून रहेको छ — केवल २१३ जना विदेशी र १२ जना सार्क मुलुकका नागरिक पुगेका छन्। बाँकी सबै आन्तरिक पर्यटक हुन्। सुवेदीका अनुसार प्रचारप्रसार, पदयात्रा गन्तव्यका रूपमा बुकी र जलजलाको लोकप्रियता, र घरबास तथा होटल व्यवस्थापनले पर्यटक आकर्षण बढाएको हो।
“ढोरपाटन अब सिकारमात्र होइन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक गन्तव्य र पदयात्राको केन्द्र बन्दैछ,” सुवेदीले बताए।
पर्यटक वृद्धि हुनासाथ राजस्वमा समेत उल्लेखनीय वृद्धि भएको छ। एक सय रुपैयाँ प्रवेश शुल्क तिर्ने आन्तरिक पर्यटकबाट मात्रै गत आर्थिक वर्षमा २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
ढोरपाटन सामुदायिक घरबास सञ्चालक रामबहादुर घर्तीका अनुसार हाल उपत्यकाभित्र दुई दर्जन होटल र घरबास सञ्चालनमा छन्। पोखराबाट सीधै प्याकेजमार्फत पर्यटक ल्याउने र लैजाने व्यवस्थापन भएपछि भ्रमण अझ सहज बनेको छ।
समुद्री सतहदेखि २९०० मिटरको उपत्यकादेखि ४ हजार मिटर उचाइमा रहेको बुकीपाटनसम्म पुग्ने पर्यटक बढेका छन्। सिकार खेल्न मात्र होइन, अब ढोरपाटन उपत्यका, ढोरबराह मन्दिर, निशेलढोर, बुकीपाटन, जलजलाजस्ता प्राकृतिक र सांस्कृतिक गन्तव्य अवलोकन गर्न जानेहरू बढेका छन्।
प्रकृति, संस्कृति र साहसिक पदयात्राको समायोजनले ढोरपाटन अब नयाँ उचाइमा पुग्न थालेको छ। सरकार र सरोकारवालाले अझ पूर्वाधार विकास गरे ढोरपाटन निकट भविष्यमै नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्ने सम्भावना प्रवल देखिन्छ।
प्रतिक्रिया दिनुहोस्