काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक संघसंस्थामार्फत पार्टीको सशक्त उपस्थिति सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।
आज माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले बदलिँदो राजनीतिक परिप्रेक्ष्यमा संघसंस्थामा माओवादी कार्यकर्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले माओवादी नेता तथा कार्यकर्ताहरू थुप्रै संघसंस्थामा संलग्न भए पनि आफू माओवादी भएको पहिचान खुलाउन हिच्किचाउने प्रवृत्ति हटाउनुपर्नेमा विशेष जोड दिनुभयो। “जहाँ जहाँ हाम्रा साथीहरू छन्, ती संस्था उत्कृष्ट हुनुपर्छ,” प्रचण्डले भन्नुभयो, “संघसंस्थालाई बुझ्ने विषयमा पार्टीको स्पष्ट धारणा जनतामाझ मात्र होइन, पार्टी संरचनाको सबै तहमा समान रूपमा पुगोस्।”
अध्यक्ष दाहालले माओवादी केन्द्रको ‘स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्र’ को अवधारणा अन्य दलको सोचभन्दा भिन्न रहेको उल्लेख गर्दै, यसलाई पार्टी कार्यकर्तामार्फत आधार तहसम्म स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँका अनुसार यस सोचमार्फत माओवादी केन्द्रलाई एक फरक विचार र दृष्टिकोण बोकेको पार्टीको रूपमा चिनाउन सकिन्छ।
कार्यक्रममा समाज कल्याण क्षेत्रमा क्रियाशील नेताहरू, विज्ञ र सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्