बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा उहाँविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावको पक्षमा २२ मत परेपछि लामाको नेतृत्त्व सकिएको हो।
कुल ३७ जना सांसद सहभागी बैठकमा मुख्यमन्त्री लामाको पक्षमा १५ मत मात्रै परेको थियो। पूर्वमन्त्री तथा सांसद मीनकृष्ण महर्जनका अनुसार लामाविरुद्धको अविश्वास प्रस्ताव दलका बहुमत सांसदको समर्थनमा पारित भएको हो।
यसअघि बागमती प्रदेश कांग्रेस सभापति इन्द्र बानियाँको नेतृत्वमा २१ जना सांसदले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। अविश्वासको पक्षमा उभिने सांसदहरूमा इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ छन्।
त्यस्तै, मुख्यमन्त्री लामाको पक्षमा उभिने सांसदमा लामासहित कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गीता गुरुङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी छन्।
प्रतिक्रिया दिनुहोस्