नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीभित्र देखिएको हालको असमझदारी, बहस र नेतृत्वप्रति उठाइएका प्रश्नका बीच सामाजिक सञ्जालमार्फत एक स्पष्ट र राजनीतिक सन्देश सार्वजनिक गरेका छन्।
उनले हाल माओवादी केन्द्रभित्र पार्टी फुट्ने हल्ला, संगठनात्मक कमजोरी, वैचारिक अस्पष्टता लगायतका मुद्दामा खुलस्त धारणा राख्दै कार्यकर्ता र जनतालाई “भ्रमको खेती” प्रति सचेत रहन आग्रह गरेका छन्।
शर्माले भनेका छन्, “पछिल्ला दुई वर्षदेखि माथिल्लो तहबाटै निरन्तर पार्टी फुट्नेछ भन्ने आशंका र प्रचारको श्रृङ्खला चलेको छ। अहिले त्यसलाई थप मलजल गर्दै कार्यकर्ता र जनमाझ भ्रम सिर्जना गर्ने कार्य भइरहेको छ, जसबाट सबै सचेत हुनुपर्छ।”
उनले गत वर्ष सातै प्रदेशमा आयोजित परामर्श बैठक र त्यसपछि बसेको केन्द्रीय समिति बैठकको निर्णयलाई स्मरण गराउँदै पार्टीले आषाढदेखि मंसिरभित्र विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेको जनाए।
“अब एजेन्डा केन्द्रित बहस गरेर संगठनलाई पुनः सुदृढ, व्यस्थित र जनतामुखी बनाउनु आवश्यक छ,” शर्मा भन्छन्।
जनार्दन शर्माका अनुसार हुलाकी राजमार्ग र पुष्पलाल (मध्यपहाडी) लोकमार्गमार्फत सञ्चालन गरिएको जनअभियानले पार्टीभित्र ऊर्जा निर्माण गरेको भए पनि पछिल्लो समय आएको दुई बुँदे सहमति पछि पार्टीको शाखा गिर्दो अवस्थामा पुगेको छ।
“अब गम्भीर आत्मसमीक्षा गर्दै फेरि एजेन्डा केन्द्रित बहसमा फर्किनु जरुरी छ,” उपमहासचिवको भनाइ छ। शर्माले देश हाल बहुआयामिक संकटमा रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि तीन मुख्य उपाय औंल्याएका छन्:उनको भनाइमा, “अर्थतन्त्रको पुनसंरचनाले समाजवादउन्मुख अर्थनीतिलाई व्यवहारमा रूपान्तरण गर्दै उत्पादन, वितरण र समावेशी विकासको नयाँ मानक निर्माणमा सहयोग पुर्याउँछ।”
त्यस्तै, संविधान संशोधनले शासकीय स्वरूप, निर्वाचन प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना जस्ता एजेन्डालाई सम्बोधन गर्दै राष्ट्रलाई एकताबद्ध गर्ने मार्ग खोल्नेछ।
शर्माले विशेष महाधिवेशनलाई “पार्टीभित्रको वैचारिक अस्पष्टता, सांगठनिक अराजकता, विधि बिहिनता र राजनीतिक अन्योलताको अन्त्य गर्ने अवसर” को रूपमा प्रस्तुत गरेका छन्।
उनका अनुसार, “यो महाधिवेशनले नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्दै पार्टीलाई पुनर्गठन गर्ने कार्ययोजना निर्माण गर्नेछ।”उपमहासचिव शर्माको यो टिप्पणीले नेकपा (माओवादी केन्द्र) भित्रको अहिलेको बहसलाई एजेन्डा र समाधानकेन्द्रित दिशामा मोड्ने प्रयास देखिन्छ। उनको सन्देश नेतृत्व र कार्यकर्ताबीचको अविश्वास हटाउँदै संगठनभित्र लोकतान्त्रिक संवाद र समावेशी पुनर्गठनतर्फको बाटो खोल्ने संकेतका रूपमा समेत लिइएको छ।
पार्टीभित्र देखिएको असन्तोष, भ्रम र सन्देहलाई प्रष्ट पार्दै शर्माले विशेष महाधिवेशनलाई पार्टीको नयाँ मोड बनाउने आशा व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्