Ads

बुकीपाटनमा पर्यटकको लहर: गोठालाको गोठमै सुरु भयो आम्दानीको यात्रा


बागलुङको पर्यटकीय स्वर्ग ढोरपाटनमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेसँगै यहाँका गोठालाहरूको जीवनशैलीमा सकारात्मक रूपान्तरण देखिएको छ। विशेषगरी ढोरपाटन क्षेत्रको बुकीपाटनसम्म पुग्ने पदयात्रु पर्यटकका कारण गोठमा नै बसोबास र भोजन सेवा दिने गोठालाहरूको आम्दानी उल्लेख्य रूपमा बढेको छ।

गोठालाहरूले पर्यटकलाई भैँसीको ताजा दूध, घ्यू, दही, मोही, खीर र भेडाको मासुजस्ता मौलिक परिकार परोस्न थालेका छन्। यसले गाउँमै बसेर आत्मनिर्भर बन्ने अवसर सिर्जना गरेको छ। पर्यटक गोठमै रात बिताउने, स्थानीय उत्पादन उपभोग गर्ने चलन बढेसँगै गोठको वातावरण नै पर्यटनमैत्री बन्दै गएको छ।

७२ वर्षीय भैँसी गोठाला देवबहादुर विक भन्छन्, “पहिला घ्यू मात्र बिक्री हुन्थ्यो, मोही त झन फाल्नु पर्थ्यो। अब भने मोहीसमेत महङ्गोमा बिक्री हुन्छ। पर्यटक बढेपछि गोठमै खीर पकाएर खुवाउँछु, गोठमै पैसा आउन थालेको छ।”

त्यस्तै, बुकीपाटन उक्लने बीचको चेप्टेढुङ्गास्थित गोठमा रहेका गुमानसिंह कुमाई प्रतिगिलास १०० रुपैयाँमा चिया बेचेर दैनिक सयभन्दा बढी गिलास चिया बिक्री गर्दै आएका छन्। तीन भैँसी र ६० वटा बाख्रापालेको गोठबाटै हुने यो आयले घ्यू वा दही बनाउनुपर्ने झन्झटसमेत घटेको उनी बताउँछन्।

“बुकीमा चरेका भैँसीको दूधबाट बनेको चिया पदयात्रीलाई अत्यन्त मीठो लाग्छ,” कुमाई भन्छन्, “पहिला खेर जाने मोही पनि अब महङ्गोमा बिक्री हुन्छ। पर्यटकले गोठमै पैसा ल्याएका छन्।”

ढोरपाटनमा हालै एक वर्षमै आठ हजारभन्दा बढी पर्यटक पुगेको सरकारी तथ्यांकले देखाउँछ। यसले पदमार्ग, घरबास, घोडा सफारी, गोठबास लगायत सेवा व्यवसायमा उल्लेख्य वृद्धि गराएको छ।

पहिला सिकार खेल्न मात्र विदेशी पर्यटक आउने ढोरपाटन सिकार आरक्ष र आसपासका क्षेत्र अब आन्तरिक पर्यटकका पनि रोजाइमा पर्न थालेका छन्। ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन, जलजला लगायत क्षेत्रको प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गरिरहेको छ।

समुन्द्री सतहदेखि २,९०० मिटरदेखि ४,००० मिटर उचाइको बुकीपाटनसम्मको यात्रा रोमाञ्चक मानिन्छ। यस पदमार्गको विकास, प्रचारप्रसार तथा स्थानीय सहभागिताले ढोरपाटन क्षेत्रको पर्यटकीय मूल्यवृद्धि मात्र होइन, गोठालाको आर्थिक समृद्धिमा समेत नयाँ उज्यालो ल्याएको छ।

Ads

सम्बन्धित पोष्टहरू